दाेस्राे पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोली आज स्वदेश फर्किएको छ । बङ्गलादेशबाट फर्किएको उक्त टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले स्वागत गरे । मन्त्री गहतराजले खेलाडीहरूलाई बधाई दिँदै अर्काे-अर्को प्रतियोगिताको लागि तयार रहन आग्रह गरे ।
नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न मन्त्री गहतराजका साथै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केसमेत विमानस्थल पुगेका थिए । विमानस्थलमा उनीहरूकाे स्वगतका लागि नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थिति थियाे ।
विजयी भएर फर्किएको खेलाडी तथा अफिसियलको टोलीलाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषसरमा लगेर भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्र्याएको हो । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियाे ।
साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो ।
हिजो (बुधबार) मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही पाँचलाख, प्रशिक्षकलाई तीनलाख र अफिसियललाई दुई लाख रुपैयाँ नगद दिने निर्णय गरेकाे थियाे ।