तस्बिरमा देखिएको संरचना सुनसरीको इटहरी उपमहानगरले मुसहर समुदायको लागि वडा नम्बर १६ मा तयार गरेको बस्ती हो । यो बस्तीमा खानेपानी, पाइखाना, बालबालिकाका लागि खेल्ने ठाउँ, सामुदायिक भवन र दिनाभद्रीको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख रुपैयाँ खर्च गरेर यहाँ १५ वटा घर बनाइएका छन् ।
बहुवर्षे सडक आसपास छाप्रो हालेर बसेका इटहरी-१७ का मुसहर परिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा यी संरचना तयार गरिएका हुन् । तर यी घरहरू दुई वर्षदेखि खाली छन् ।
मुसहर समुदायका परिवार यहाँ बस्न मानेका छैनन् । स्थानीय सरकारले नसोधी घर बनाएको तथा काम गर्ने कम्पनीसम्म पुग्न टाढा हुने भन्दै उनीहरू यहाँ जान मानेका छैनन् । मुसहर समुदायका काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने तयारी गरेको थियो । तैपनि उनीहरू त्यहाँ सर्न मानेका छैनन् ।
आफ्नो बाउबाजेदेखि यहीँ बसेर जीविका गरेको हुँदा बाउबाजे बसेको ठाउँ छाड्न नचाहेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । सरकारले घर निर्माण गर्नुअघि आफूहरूसँग सल्लाह नगरेकोसमेत उनले बताइन् । अहिले बसेकै ठाउँमा वस्ती व्यवस्थित गरिदिन समेत उनले आग्रह गरिन् ।
त्यस्तै भुटिऋषि देव पनि आफ्नो परिवार नयाँ घरमा जान नमानेको बताउँछिन् । सबै छोरा मान्छे सागर फिड्स कम्पनीमा ज्यालादारी काम गर्ने भएकाले नयाँ घरबाट टाढा र अपायक भएको उनकाे भनाइ छ । उनले सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने तर सरकारले बनाएको नयाँ घरमा नजाने तर्क गरिन् ।
‘हामी यो ठाउँका ३० देखि ४० जना महिला पुरुष सागर फिड्समा काम गर्छौं । यहाँबाट नजिक पर्छ, तर नयाँ घरबाट दुई किलोमिटर टाढा पर्छ,’ चम्रु ऋषिदेवले भने, ‘सरकारले साइकल दिन्छु भनेको छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ । कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौं ।’ स्थानीय सरकारले घर निर्माणभन्दा पनि सुरुमै सल्लाह मागेको भए केही उपाय लगाउन सकिने तर अन्तिम अवस्थामा जानकारी गराएकाे नयाँ ठाउँमा जान नसकिने चम्रुको भनाइ छ ।
करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना विफल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्नेमा इटहरी उपमहानरपालिका अलमलमा छ ।
मुसहर परिवार बस्न नमानेपछि ती संरचनाहरूमा राख्नको लागि विपन्न परिवारको पहिचान गरी सुझाव दिन वडा नम्बर १६ का अध्यक्ष दीपनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको छ । उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अति विपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताए ।