सरकारलाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न सकस परेको छ । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेर दुई महिना अघि नै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाइएको भएपनि त्यसलाई रद्द गरेर फेरि दरखास्त मागिएको छ ।
कात्तिक ११ गतेको विज्ञापन अनुसार अध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेको भएपनि छनोट तथा सिफारिस समितिले उनीहरूमध्ये ३ जनाको नाम छनोट गरेर नियुक्तिका लागि सरकारलाई सिफारिस गर्न नसकेपछि फेरि नयाँ विज्ञापन खोलिएको हो ।
छनोट समितिले बिहीबार सार्वजनिक सूचना जारी गरेर २९ पुसभित्र आवेदन दिन आह्वान गरेको छ । साथै यसअघि आवेदन दिएकाहरूलाई फेरि आवेदन दिन वा आवेदन फिर्ता लिन चाहेमा म्यादभित्र फिर्ता लिन भनिएको छ ।
यसअघि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र उपकार्यकारी निर्देशक नबराज अधिकारी, बोर्डकै पूर्वकर्मचारी जीवन अमगाई, बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा पुँजीबजार विज्ञ गोपाल भट्ट, वित्तीय विज्ञ रमेश हमाल, सहरी विकास कोषका उपनिर्देशक अनिल पौडेल, अम्बिका शर्मा, केशव श्रेष्ठ र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
धितोपत्र बोर्डको अध्यक्ष छनोटको लागि छनोट समितिले ३ जनाको नाम सिफारिस गर्ने र अर्थमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर तीनमध्ये एक जनालाई नियुक्ति दिने व्यवस्था छ ।
तर अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच सहमति जुट्न नसक्दा छनोट अगाडि बढ्न नसकेको र दोहोर्याएर दरखास्त आह्वान गरिएको समाचार सूत्रहरूले उल्लेख गरेका छन् । अर्थमन्त्री शर्माले चापागाईँलाई अगाडि सार्दा आरजुले हमाललाई अगाडि बढाउनुपर्ने जोड दिएकी थिइन् ।