रसुवा भन्सार कार्यालय टिमुरेले मङ्सिर महिनामा लक्ष्यभन्दा ८८.३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।
भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व सङ्कलनकाे लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व सङ्कलन भएकाे छ । जुन मङ्सिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार रुपैयाँ बढी हो ।
गत वर्षको मङ्सिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार रुपैयाँ राजस्व सङ्कलन भएकाे थियो । गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ ।
रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ । यसको असर भन्सार राजस्व सङ्कलनमा पनि देखिएको छ । रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व सङ्कलन गर्न सकेको थिएन ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जानेगरेको भएपनि कोरोना सङ्क्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेकोले नेपालबाट हुने निर्यात भने शून्य छ ।