पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगका साथै काठमाडौंका डाँडामा पनि हिउँ परेको छ । काठमाडौं उपत्यका वरपरका डाँडाहरू फूलचोकी, चन्द्रागिरि लगायतमा हिउँ परेको छ ।
बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौंमा मङ्गलबार वर्षा भएको थिएन ।
कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडाैंमा सिमसिम वर्षा भइरहेकाे छ ।
कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मङ्गलबार रातिबाट ठूलो परिमाणमा हिमपात भइरहेकाे हाे ।
डोल्पाकाे सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
मुगुमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको छ । मुगुको छायानाथ रारा, सोरु र मुगुम कार्मारोङ् गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । सदरमुकाम गमगढीमा भने वर्षाका साथै हल्का हिमपात भएको छ ।
महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान मौसमविद्हरूको छ ।
हिमपातले सेताम्मे भएको काठमाडौंको चन्द्रागिरिका केही तस्बिरहरू --