पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ । पोखरा १८ सेदीदेखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्ष अर्थात् यही पुस १७ गतेदेखि खुला गर्ने तयारी छ ।
केबलकारमा जडान भएका गण्डोला (यात्रु बोक्ने डिब्बा) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार सबै चरण पार गरेपछिमात्र व्यावसायिक रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । लोड परीक्षण करिव सकिएको कम्पनीले जनाएको छ ।
२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्नेसहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ । केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् ।
माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।
केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केबलकार निर्माणमा २ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।
केवलकारमा चढ्न नेपालीका लागि जातेआते गरी ६ सय रुपैयाँ शुल्क तोकिएको छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिकलगायतका लागि विशेष छुट दिइने बताइएको छ । सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीका अनुसार विदेशीका लागि ७ सय र ८ सय रुपैयाँ गरी दुईथरी भाडादर तोकिएको छ । एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो ।
केबलकारमा युवा व्यवसायी कालु गुरुङसहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।
केबलकार निर्माणमा करिव ४ वर्ष लागेको छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको त्रिपाठीले जानकारी दिए ।