प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सम्बन्धित मन्त्रीले शुभकामना व्यक्त गरेका छन् । यस क्रममा सरकारी प्रतिबद्धता महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले व्यक्त गरेकी छन् । विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी हुन् । उनले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने बताइन् ।
सन्देशमा उनले सुविधायुक्त ज्येष्ठ नागरिक अस्पतालको निर्माण कार्य प्रारम्भ गरिएको र ज्येष्ठ नागरिकप्रति हुने दुव्र्यवहार नियन्त्रणका लागि आवश्यक कानूनी सुधारका साथै सामाजिक एवं सामुदायिक चेतनामूलक अभियान सञ्चालन गर्दै दुव्र्यवहारमुक्त समाज निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गरिरहेको छ भनेकी छन् । “ज्येष्ठ नागरिकको सम्मानबिना समाज सभ्य र सुसंस्कृत हुन सक्दैन, ज्येष्ठ नागरिकलाई उचित भरणपोषण गर्नु, सम्मान दिनु हामी सबैको कर्तव्य हो, व्यवहारमा हाम्रा आचरण र कर्मले ज्येष्ठ नागरिकलाई सम्मान दिनसकेमा यस दिवसको नाराले सार्थकता पाउँछ” सन्देशमा उनले भनेकी छन्, “ज्येष्ठ नागरिकका अधिकार संरक्षण र सामाजिक सुरक्षाका संवैधानिक प्रावधानको कार्यान्वयनमा मन्त्रालयको तर्फबाट प्रतिबद्धता प्रकट गर्न चाहान्छु ।” मन्त्री रेग्मीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको साझा कार्य जिम्मेवारीमा रहेको ज्येष्ठ नागरिक अधिकार संरक्षण एवं सामाजिक सुरक्षाका लागि समन्वयात्मक र एकीकृत नीति तथा कार्यक्रम तर्जुमा गर्न मन्त्रालयले पहलकदमी लिने बताइन् ।
उनी सन्देशमा भन्छिन्, “हरेक स्थानीय तहमा स्थापना गरिने ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकको ज्ञान, सीप अनुभवको पुस्तान्तरणका लागि अन्तरपुस्ता अन्तर्क्रिया गर्ने र मनोरञ्जनात्मक स्थलको रुपमा समेत विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको छ ।” मन्त्री रेग्मीले मातृदेवो भवः पितृदेवो भवः भनी आफ्नो परिवारको ज्येष्ठ नागरिकको मर्यादित, सम्मानित र सुखी जीवनतर्फ प्रेरित गर्ने नेपालको पूर्वीय दर्शन एवं सांस्कृतिक परम्परा अक्षुण्ण राख्दै सुसंस्कृत सभ्यताको परिचय दिन तीनै तहका सरकार, घर परिवार, समाज एवं सबै नागरिकलाई आग्रह गरिन् । ज्येष्ठ नागरिकको जीवनयापनमा भरथेग र सम्मानप्रति राज्यको कर्तव्यलाई बोध गरी सरकारीस्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न आरम्भ भएको दिनलाई स्मरण गर्दै ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।