अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पँधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन् । करीव तीन वर्षअघि हिउँदमा यो पँधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु टाढाको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । काम गर्ने उमेरका युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई निकै सास्ती भयो ।
तर गतवर्ष ठूलो खडेरी लाग्दा पनि पानी नसुकेपछि स्थानीय दङ्ग छन् । स्थानीय युवा व्यवसायी कृष्ण प्रसाद भुसाल र पत्रकार समेत रहेका व्यवसायी हरिप्रसाद भुसालको नेतृत्वमा सुरु भएको दश घर एक पोखरी अभियानले दुई वर्ष अघि नेटाकापोखरामा पोखरी खनेपछि काफलपानी पँधेराको पानी सुकेको छैन । “दुई तिनवर्ष अघि सामान्य खडेरीमा पनि सुक्न थालेको पँधेरो यो पोखरी खनिएपछि गतवर्ष ठूलो खडेरीमा पनि सुकेन ।” स्थानीय जीवबहादुर दमाईले भने ।

नेटाकापोखरा मात्र होइन दुई वर्ष अघि शुरु भएको दश घर एक पोखरी अभियानले अर्घाखाँची जिल्लाका तीनदर्जनभन्दा बढी स्थानमा साना ठूला पोखरीहरु निर्माण गरेको थियो । यिनै पोखरीहरुले गर्दा धेरै ठाउँमा हिउँदमा पानी नसुकेको अभियन्ता कृष्ण प्रसाद भुसालको भनाई छ ।
दुई वर्ष अघि खनेका पोखरीहरुले खडेरीमा समेत मूल मर्न नदिएको देखेपछि हौसिएका अभियन्ताहरुले गएको एकादशीमा देउसी खेल्ने निर्णय गरे । भुसाल दाजुभाइको प्रस्तावमा सहमति जनाउँदै लायन्स क्लव अफ अर्घाखाँचीले समेत भैलोलाई साथ दिने निर्णय गर्यो । अनि लायन्स क्लव अफ अर्घाखाँची सँगको समन्वयमा दश घर एक पोखरी अभियानले करीव १ लाख रुपियाँ जम्मा गर्न सफल भयो । यही पैसाबाट पोखरीहरु निर्माण भैरहेका छन् ।

देउसीबाट संकलन भएको पैसामध्येबाट करीव ५० हजारको लागतमा चारओठा ठूला र एउटा सानो पोखरी निर्माण गरिएको छ भने अन्य स्थानको खोजी भैरहेको अभियन्ता हरिप्रसाद भुसालले बताए । “अग्लो ठाउँमा रहेका र स्थानीय सरकारहरुको ध्यान नपुगेका लोपुन्मुख पोखरीहरु हामीले खनिरहेका छौं ।” भुसालले भने “हामीले खनेका पोखरीहरुका कारण हिउँदमा मूलहरू सर्सिउन भन्ने हाम्रो एकमात्र चाहना हो ।”
विकासको क्रममा बाटो, खेल मैदान, अनि संरचनाहरु निर्माण हुँदा धेरै ठाउँमा पोखरीहरू पुरिएको र पोखरीहरू पुरिएकै कारण अर्घाखाँचीमा पानीको समस्या झन बढेको निष्कर्ष सहित भुसाल बन्धुले दशघर एक पोखरी अभियानको कल्पना गरेका थिए । “शुरुशुरुमा त सरकारी पैसा खाने यीनीहरुको मेसो हो भन्ने बुझाई थियो । पैसा नखाई यीनीहरु किन फिरिमा कुद्थे पनि भन्ने गरेका थिए ।” नेपाल हार्ट फउन्डेसनका अध्यक्ष समेत रहेका अभियन्ता कृष्ण भुसालले भने “पछिल्लो समय स्थानीयहरुले पनि कुरा बुझ्नुभएको छ, उत्साहजनक साथ पाएका छौं ।”

स्थानीय जनताबाट सद्भाव र सहयोग प्राप्त भएपनि सरकारी तहबाट कुनै सहयोग नपाएको भुसालले बताए । “ठ्याक्कै हामीलाई नै सहयोग आओस् भन्ने हाम्रो आशय र चाहना हैन, कमसेकम स्थानीय सरकारहरुबाट वडावडामा अभियानकै रूपमा पोखरीहरु निर्माण गरिए हाम्रो सपना पुरा हुन्थ्यो । यसरी स्थानीय सरकारहरु अगाडी बढे हामीले सहयोग गर्नेथियौं ।” भुसालले भने ।
दश घर एक पोखरी अभियानको विषयमा आफूले पनि सुनेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार विकले बताए । “उहाँहरुसँग सहकार्यको अवस्था त बनिसकेको छैन तर रिचार्जपोखरी निर्माणमा हामीले शुरुदेखी नै काम गरिरहेका छौं ।” विकले भने । आफूहरू निर्वाचित भएको पहिलो वर्ष नै हरेक वडामा रिचार्ज पोखरी निर्माणको लागि एक एक लाख विनियोजन गरी काम सम्पन्न गरिएको विकको भनाई छ ।