वर्तमान संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरी कार्यदलले शीर्ष नेताहरूलाई बुझाएको छ। कार्यदलले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा वर्तमान सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पर्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाइएको हो। शीर्ष नेताहरूले अध्ययन गरी अन्तिम रूप दिएपछि संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने र कार्यान्वयनमा आउने बताइएको छ।
कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कट समाधान गर्नुलाई न्यूनतम साझा कार्यक्रमले संयुक्त सरकारको मुख्य प्राथमिकतामा राखेको छ। त्यसको लागि आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने भनिएको छ।
यसैगरी संविधानको सर्वोच्चता, कानुनी राज र सुशासनको प्रत्याभूति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने, राजनीतिक दलहरूबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने, बाढी, पहिरो तथा डुवानमा परेका जनताको उद्धार, राहत तथा पुनर्निर्माणमा जोड दिने लगायतका अन्य प्राथमिकताहरू छन्।
कार्यदलले संयुक्त सरकारका मन्त्रीहरूको लागि आचारसंहिता पनि तयार गरेको छ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमहरू तयार गर्न नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलका अन्य सदस्यमा नेपाली कांग्रेसका रमेश लेखक र डा. मीनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ् र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो।