एकिकृत चिकित्सा शिक्षा प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । चिकित्सा शिक्षा आयोगले यही साउन ९ गतेदेखि १२ गतेसम्म स्नातक तहको एमबीबीएस, बीडीएस, बीपीएच लगायतका विभिन्न १६ वटा विषयकालागि प्रवेश परीक्षा सञ्चालन गरेको थियो । जस मध्ये आयोगले हाल MBBS, BDS, BAMS, BSC.MLT, BSC.MIT, B.OPTOMETRY को परीक्षाफल सार्वजनिक गरेको छ ।
बिहिवार साँझ अबेर प्रकाशन गरिएको परिणाममा २ सय पूर्णाङ्क मध्ये १ सय पूर्णाङ्क ल्याउने परीक्षार्थीको नाम सार्वजनिक भएको छ । जन अनुसार एमबीबीएसको खुला तर्फ ४ हजार २ सय ९७ जना, विदेशी विद्यार्थी ९४ जना र बीडीएस तर्फ १ हजार ७ सय ९४ जनाको नाम प्रकाशनभएको छ । BAMS तर्फ १ सय २३, BSC.MLT १ सय १८, BSC.MIT ३५ र B.OPTOMETRYतर्फ ३ सय २ जनाको नाम प्रकाशन गरिएको छ । यसैगरि आयोगले सरकारी विद्यालय र नीजि विद्यालयमा पढ्ने महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मधेशी दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र अपाङ, शहिद/बेपत्ता/घाइते र द्वन्द्व पीडित समुहकालागि समेत बेग्ला बेग्लै सुची प्रकाशन गरेको छ ।
एकिकृत प्रवेश परीक्षामा व्यक्तिगत रुपमा करिब ३२ हजार ३ सय जनाले तथा एउटै विद्यार्थीले १ अथवा बढी विषय अध्ययन गर्नकालागि फारम भरेको आधारमा करिब २२ हजार विद्यार्थी सहभागी भएका थिए । आयोगले मुलक भरका विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठान अन्तर्गत ७६ वटा कलेजहरुमा पढाउन पाउने विषय र भर्ना लिन पाउने सिट यसअघीनै निर्धारण गरिसकेको छ । यी कलेजहरुमा आयोगले प्रकाशन गरेको योग्यता सुचीका आधारमा विद्यार्थीहरुले भर्ना गर्न पाउने छन् ।
हाल प्रकाशित नतिजा उपर चित्त नबुझेमा परीक्षार्थीले पुनर्योगकोलागि निवेदन दिन सक्ने र आरक्षण समुह अनुसारको सुचीमा समेत कुनै उजुरी भएमा उजुरी दिनसक्ने आयोगले जनाएको छ । यसैगरि अन्य चिकित्सा शिक्षा अन्तर्गतकै अन्य विषयहरुको परिणाम समेत छिट्टै सार्वजनिक गरिने भनाई आयोगका पदाधिकारीको छ ।
चिकित्सा शिक्षा आयोग गठन भएपछि पहिलो पटक स्नातक तहकालागि एकिकृत प्रवेश परीक्षा सञ्चालन गरिएको हो । यसअघि विद्यार्थी र अभिभावक विभिन्न विश्वविद्यालय तथा प्रतिष्ठानले सञ्चालन गर्ने प्रवेश परीक्षामा सहभागी हुँदा समय र पैसा खर्च हुने गरेको थियो । आयोगले सबैकालागि एउटै प्रवेश परीक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षण संस्थाकालागि समेत सहज भएको आयोगका पदाधिकारी बताउँछन् ।।