नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातमा कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो ।
निर्देशनमा चिनी/चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा/भिनेगर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमूल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ ।
निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी विद्युतीय बाहेकका गाडी र मोटरसाइकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ । उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन बापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ ।
आयातलाई निरुत्साहित गर्नका लागि केन्द्रीय बैंकले कडाइ गरेको हो । उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो । यसअघि पनि राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गर्न सीमा तोकेको थियो ।