किराँती समुदायको महान पर्व उधौली ‘साकेला धिरीनाम ५०८१’ धुमधामका साथ उदयपुरमा सुरु भएको छ । धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित १५ दिनसम्म उधौली चाड मनाउन सुरु गरेका हुन् ।
यो पर्व किरात याक्खा, सुनुवार, लिम्बु र राई समुदायले मनाउने गर्छन् । किराँत याक्खा, सुनुवार, लिम्बु र राई समुदायको माग अनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बुले चासोक तङनाम र राईले साकेला भनेर मनाउने गर्छन् ।
वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा पनि पूजा गरेर उधौली मनाउने गर्छन् । नयाँ अन्न प्रयोग गर्ने चलन पनि छ । वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ’उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बस्न सर्ने भएकाले ’उधौली’ भन्ने चलन छ ।
उधौलीमा ’नोक्छो’अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । उभौलीमा माटोकाे टीका लगाउने गरिन्छ भने उधौलीमा नयाँ भित्र्याएको अन्नको दही र चामलकाे सेतो टीका लगाउने चलन छ । पूजामा कुखुराको भाले-पोथी, सुगुर आदिको बली दिने चलन रहेको किरात राई यायोक्खाले बताए ।
ढोल र झ्याम्टाको लयमा खुट्टाको चाल मिलाई नाचिने सिलीमा मानव सभ्यता विकास क्रममा वस्तुस्थितिलाई हातको हाउभाउबाट देखाइन्छ । गीतसमेत सोही विषयमा आधारित हुने जानकारको भनाइ छ । ग्रामीण भेगमा नाच एक महिनासम्म चल्ने गर्छ । नाचमा सहभागी पुरुषले फेङगा भनिने एक किसिमको पोशाक, खाडीको घरबुना दौरा सुरुवाल, कोट, टोपी र मयुरको प्याख लगाउँछन् ।
महिलाले छिट्को गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन छ । ढुङ्री, मुडरी, बुलाकी र सिक्काको मालासमेत लगाउने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासमेत किराँत समुदायको परम्परागत पोसाकमा सजिएर सिली नाच्ने गरिन्छ ।
किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नवीन राईका अनुसार वर्षमा दुई पटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौली पर्व मनाउने गर्दछन् ।