शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका क्षेत्रका बालबालिकाको निःशुल्क मुटुको स्क्रिनिङ् (परीक्षण) गर्ने भएको छ । केन्द्रले बूढानीकलण्ठ नगरपालिकाको सहकार्यमा पाँचदेखि १५ वर्ष उमेरसमूहका विद्यार्थीको मुटुको स्क्रिनिङ् गर्ने भएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले बालबालिकामा लाग्ने बाथ मुटुरोग कतिको छ भनेर परीक्षण गर्नका लागि मुटुको स्क्रिनिङ्ग गर्न थालिएको बताए । उनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत् करिव १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ गरिने छ ।
“बाथमुटुको रोग कति छ भनेर हेर्नका लागि हामीले परीक्षण गर्न थालेको हौं”, उनले भने, “आगामी सोमबार (यही पुस ६ गते)देखि विद्यालयमा नै गएर हामीले बालबालिकाको मुटुको परीक्षण गर्ने छौं ।”
सामुदायिक विद्यालयबाट १० हजार विद्यार्थी नपुगेको खण्डमा निजी विद्यालयका विद्यार्थीको पनि परीक्षण गर्ने उनले बताए । केन्द्रका विशेषज्ञसहितको टोली प्रत्येक विद्यालयमा गई विद्यार्थीको मुटुको परीक्षण गर्ने छ ।
यसअघि केन्द्रले अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)सँग मिलेर फुटबलका राष्ट्रिय खेलाडीको मुटुको अवस्थाको परीक्षण गरेको थियो । २०० जना खेलाडीको मुटुको परीक्षण गरिएको डा. अधिकारीले जानकारी दिए ।
“फुटबल खेल्नु भन्दा अगाडि खेलाडीको मुटुको अवस्था कस्तो छ । खेल्न सक्छन् कि सक्दैनन् भनेर हामीले मुटुको परीक्षण गर्यौं” उनले भने, “परीक्षण गर्दा एक जनामा बाथमुटु रोग लागेको र अर्को एक जनाको मुटुमा प्वाल परेको पाइयो । ती दुई जना उपचारपछि घर फर्किसकेका छन् ।” दुई जनामध्ये एकजना पुनः फुटबल खेल्न थालिसकेका र अर्का एक जनाले तीन महिनापछि फुटबल खेल्न सक्ने उनले बताए ।