प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए ।
‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो । ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त हुनुभएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो । उनीबाट मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो । बन्दीगृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।
यसैगरी जेलमा बस्दा विसं २०१७ देखि २०२५ सम्मका दैनिकीको सङ्ग्रह ‘जेलजर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा थुनिँदा लेखिएको दैनिकीको सङ्ग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’ लगायत रचना २०१७ साल पुस १ गतेको शाही कूपछि नै नेपाली साहित्य जगत्ले पाएको हो । पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउने जनाइएको छ ।
प्रधानमन्त्री बीपीलाई गिरफ्तार गर्दा बहुदलीय व्यवस्था अफासिद्ध भएको र भ्रष्टाचार बढेको भन्दै राजा महेन्द्रबाट जारी शाही घोषणाको पूर्ण पाठ यस्तो थियो-
"आगे प्यारा प्रजा, गैह्रके यथोचित,
जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरवण पैदा गर्छन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप काङ्ग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई संविधानअनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेदारी हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै कुरा भएको थियो ।
त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समयसमयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिलाई समेत कर्तव्यबाट च्युत नहुने संकेत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ । प्रजातान्त्रिक पद्धतिअनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारका बीचमा भएको भ्रमात्मका वातावरण राम्रोसित सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर त्यसको ठीक उल्टो प्रजातान्त्रिक पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थ पूर्ति गर्न अधिकार प्रयोग गरियो । ऐन/कानुनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशका प्रशासनयन्त्र निस्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरूपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनेकन भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तत्वहरूले धैरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको कार्यान्वयनबिना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरणमात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रका निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नहुने भएकाले देशको एकता, राष्ट्रियता र सार्वभौम बचाउन, देशमा अमनचयन कायम राख्न र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमा भएकाले उपर्युक्त वातावरण हटाई शान्तिसुरक्षा कायम राख्न र देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष अवस्थाको जरुरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद दुवै सदनसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौं –
- भाग २ का सबै धारा,
- भाग ३ का सबै धारा,
- भाग ४को धारा ११ बाहेक अरू सबै धारा,
- भाग ५को धारा ५५ बाहेकका सबै धारा,
- भाग ९को परिच्छेद ३ तथा धारा ७३ बाहेक र
- भाग १० का सबै धारा ।
यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, कामकर्तव्यबाट विचलित हुनु वा अल्मलिनुपर्दैन र सबैले आ-आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ । परराष्ट्र विषयमा हामीले दृढतापूर्वका आफ्नो तटस्थता अपनाई सबै मित्र राष्ट्रसँग मित्रताको नीति नै कायम राख्नेछौं र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौं ।
श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् ।
जय नेपाल ।"