काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले आज २७औँ दीक्षान्त समारोह गरी उक्त विश्वविद्यालयबाट विभिन्न विषयमा स्नातक अध्ययन गरी उत्तीर्ण भएका १ हजार ४४९ विद्यार्थीलाई स्नतक उपाधिसहित प्रमाणपत्र प्रदान गरेको छ ।
तीमध्ये स्कुल अफ आर्टस्का २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी छन् ।
साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातकोत्तर तहका विद्यार्थी पनि दीक्षित भएका छन् ।
यस वर्ष मास्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन र मास्टर इन रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई गरी १६ जनालाई विश्वविद्यालयले पहिलोपटक उपाधी प्रदान गरेको छ ।
दीक्षित विद्यार्थीमध्ये १२३ जना विद्यार्थी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका हुन् ।
विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबीएका १७ विद्यार्थीलाई उपाधी प्रदान गरेको थियो ।
यो विश्वविद्यालयबाट हालसम्म स्कुल अफ आर्टस्का तीन हजार २९, स्कुल अफ एजुकेशनका एक हजार ६२८, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४, स्कुल अफ ल का ११६, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कुल अफ मेडिकल साइन्सेज्का १७ हजार ६९३ र स्कुल अफ साइन्स्का तीन हजार ३९१ गरी कुल ३६ हजार ६२४ विद्यार्थीलाई उपाधि प्रदान गरिसकेको जनाइएको छ ।