शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कुल १ हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी नयाँ शिक्षक भर्नाका लागि आयोगले सातवटै प्रदेशबाट आज सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो ।
आयोगले नेपाली विषयमा २३१, अङ्ग्रेजी विषयमा ३१२, गणित विषयमा २८९, विज्ञान विषयमा ४३५, सामाजिक अध्ययन विषयमा २०१, अर्थशास्त्र विषयमा १० र कार्यालय सञ्चालन तथा लेखा विषयमा ५१ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, कम्प्युटर विज्ञान, शुक्लयजुर्वेद, न्याय, संस्कृत व्याकरण, संस्कृत साहित्य, संस्कृत भाषालगायतका विषयमा शिक्षकका लागि दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ ।
अठार वर्ष उमेर पुगेका ४० वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने छन् । लिखित परीक्षा आगामी चैत १५ गतेका लागि निर्धारण गरिएको छ ।
शिक्षकका लागि आवेदन दिन शिक्षक सेवा आयोगको आधिकारिक अनलाइन वेबसाइट https://online.tsc.gov.np/ मार्फत आगामी पुस २९ गतेसम्म अनलाइन दरखास्त दिनसक्ने व्यवस्था गरेको छ । माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ ।