वि.सं. २०७८ साल पौष १ गते बिहीबार, तदनुसार ई.सं. २०२१ डिसेम्बर १६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, हेमन्तऋतु, चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्षको त्रयोदशी तिथि मध्यरात्रि पछि ४:५१ बजेसम्म, त्यसपछि चतुर्दशी रहनेछ ।
नक्षत्र : भरणी विहान ९:०४ बजेसम्म, त्यसपछि कृत्तिका रहनेछ ।
विष्कुंभादी योग : शिव पूर्वान्ह ९:२१ बजेसम्म, त्यसपछि सिद्धी रहनेछ ।
आनन्दादी योग : पद्म ।
करण : कौलव दिवा ३:५४ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य : धनु राशिमा, चन्द्रमा : मेष राशिमा दिवा ३:३७ बजेसम्म रहनेछ ।
सूर्याेदय : ६:४९ बजे, सूर्यास्त : बेलुका ५:०९ बजे ।
(आज : प्रदोषव्रत)
(भोलि : काशीमा पिशाचमोचन तीर्थश्राद्ध)
मेष : मान्यजनको सहयोग पाइनेछ । सभा समारोहमा अतिथिको सत्कार मिल्नेछ । टाढिएका आफन्तजनसँगको सम्बन्धमा सुमधुरता छाउनेछ । बोली वचनमा मिठासपन आउनेछ । वेलुकी पख स्वास्थ्य कमजोर बन्नेछ । तर आर्थिक अवस्था भने मजबुत नै रहने देखिन्छ ।
वृष : पूर्वार्द्धको समयमा समस्या तथा चुनौतिको सामना गर्नुपर्नेछ । झन्झटको सामना गर्नुपर्नेछ । काम गरेर जस मिल्ने छैन । उत्तरार्द्धको समयमा स्वास्थ्यमा सुधार हुनेछ । आम्दानिका नयाँ संभावनाहरु जुट्ने छन् । नेतृत्वदायी कार्यको जिम्मेवारी मिल्नेछ । खुसीयाली छाउनेछ ।
मिथुन : मित्रताको बन्धन कसिलो रहनेछ । थोरै लगानीबाट नै धेरै लाभ मिल्दा खुसीयाली छाउने छ । प्रेमीप्रेमीकासँगको रमाइलो भेटघाट हुनेछ । उत्तराद्र्धको समयमा भने एक्कासी स्वास्थ्य समस्याले सताउनेछ । दोधारेपनले गर्दा निर्णय लिन गाह्रो पर्नेछ । खर्चभार बढ्नेछ ।
कर्कट : नाम, दाम कमाउने समय रहेको छ । विपक्षीहरु पनि मेलमिलापमा आउन बाध्य हुनेछन् । नयाँ ठाउँको भ्रमणले मन हर्षित बन्नेछ । नयाँ कार्यको आरम्भ गर्ने समय रहेको छ । तपाईको काम गर्ने शैलीले समाजमा बेग्लै तरंग पैदा गर्नेछ । खुसीयाली छाउनेछ ।
सिंह : आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । शत्रू पक्ष कमजोर बन्दा कार्य गर्न सहज हुनेछ । भविष्यका लागि कार्य योजनाहरु रचिने छन् । धर्म कर्ममा रुचि बढ्नेछ । गुरुजनको उपद्देशले कार्य गर्दा लक्ष्यमा पुग्न सकिनेछ । सामान्य कार्यमा नअल्झनु होला ।
कन्या : मनमा डर, त्रास उब्जनेछ । तनाबदायी कार्य मात्र आइलाग्ने छन् । समय अनुसार चल्न नसक्दा प्राप्त अवसर पनि गुम्नेछ । बेलुकी पख समस्या समाधानको उपाय रचिनेछ । काम गर्ने वातावरण बन्नेछ । धन लाभ हुनेछ भने सत्विचारको उदय समेत हुनेछ ।
तुला : नयाँ कार्य आरम्भ गर्दै हुनुहुन्छ भने पूर्वाद्र्धको समय शुभ रहेको छ । अपरिचित व्यक्तिको सहयोगले कार्यहरु बन्नेछन् । नयाँ–नयाँ अवसरहरु मिल्नेछन् । तर उत्तरार्द्धमा एक्कासी झमेला झेल्नु पर्नेछ । बोलिकै कारण विवादमा परिनेछ । चिन्ता बढ्नेछ । सजक रहनुहोला ।
बृश्चिक : प्रतिष्पर्धात्मक काम व्यवहारमा विजयी भइनेछ । घरायसी समस्या हल हुनेछ । आर्थिक आगमनमा बृद्धि हुनेछ । समस्याको पहिचान गर्न सक्दा जिम्मा लिएका कार्य समयमै पूर्ण गर्न सकिनेछ । प्रशंसा मिल्नेछ । स्वास्थ्य अवस्था सामान्य वन्दै जानेछ । समय शुभ नै रहनेछ ।
धनु : शैक्षिक क्षेत्रमा उन्नति प्रगतिको सम्भावना बलियो देखिन्छ । सन्तानको साथ सहयोग मिल्नेछ । पूर्व तयारीका साथ कार्यमा लाग्दा सफल भइनेछ । सामान्य समस्यामा नआत्तिनु होला । वेलुकीपख व्यवसायबाट आकस्मिक लाभ हुनेछ । काम प्रतिको लगनशिलता बढेर जानेछ ।
मकर : व्यवसायबाट न्यून प्रतिफल मिल्नेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । हतारको निर्णयले समस्यामा परिनेछ । उत्तरार्द्धको समय भने केही अनुकूलको बन्नेछ । नयाँ सिप सिक्ने अवसर पाइनेछ । अध्ययनमा रुचि जाग्नेछ । सृजनशिलताले धेरै व्यक्तिमाझ चिनिने अवसर मिल्नेछ ।
कुम्भ : साझेदारी कार्यको आरम्भ हुनेछ । इच्छा आकंक्षाहरु बढ्ने छन् । व्यवसायको शिलसिलामा रमाइलो भ्रमण हुनेछ । उत्तरार्द्धको समय झन्झटिलो बन्नेछ । परिस्थिति अनुसार काम कार्य गर्न सकिने छैन । विश्वास गरेका व्यक्तिले धोका दिनेछन् । सतर्क रहनु होला ।
मीन : व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । धन सञ्चय गर्ने वातावरण बन्नेछ । बोलिको प्रभाव रहला । प्रीयजनसँगको भेटले मन फुरुड्ड बन्नेछ । नयाँ योजनालाई अघि बढाउने समय रहेको छ, अल्छिपना त्याग्नुहोला । दिन लाभदायी नै बन्ने देखिन्छ ।