बाढीपहिरोले यो वर्ष सडकमा झण्डै ८० करोड रुपैयाँको क्षति भएको छ । हालसम्म १५८ वटा सडक अवरुद्ध भएको र २५ वटा पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । सडकमा पुगेको क्षति अनुसार रकमको मोटामोटी अनुमान गरिए पनि पुलका सम्बन्धमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले कतिपय पुलमा अहिले नै क्षति देखिएको छैन । वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।
उहाँका अनुसार यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको छ । क्षतिग्रस्त भएकामध्ये १० वटा बाहेक अरू सडकहरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेका छन् । यस वर्ष क्षति पुगेका २५ वटा पुलमध्ये आठवटा निर्माणाधीन पुल हुन् । पुल निर्माणाधीन अवस्थामै क्षतिग्रस्त भएमा त्यसको मर्मतको जिम्मेवारी व्यवसायीकै हुन्छ। निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका पुलको मर्मतको जिम्मेवारी भने विभागको हुन्छ।
विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकता अनुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ । आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राख्ने गरिएको महाशाखामा कार्यरत इन्जिनीयर केशव ओझाले बताउनुभयो । चालु आर्थिक वर्षमा भने कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । उहाँका अनुसार विभागले मेलम्ची–हेलम्बु सडक र बेसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ
बेसीसहर–चामे सडकमा अहिले विभागले लमजुङतर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोट गर्नुपर्छ । उहाँले भन्नुभयो, “सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।”
अरनिको राजमार्गमा पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो । सो राजमार्गमा खासगरी दुई ठाउँमा क्षति पुगेकामा एक ठाउँमा निर्माण भइसकेको छ भने अर्कोमा निर्माण भइरहेको छ । एक ठाउँमा वर्षाले पुल नै कटान गरेको थियो । उहाँले भन्नुभयो, “ठूलो क्षति भएको ठाउँमा ढलान नै गरेर पर्खाल उठाउनुपर्ने भएको छ । पुल बगाएको ठाउँमा पानीको सतह नघटी केही गर्न सकिँदैन ।” (रासस)