नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूले महाधिवेशनको सफलताका लागि शुभकामनाका साथै मन्तव्य व्यक्त गरे ।
शुभकामना मन्तव्य दिंदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताए ।
संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने विचार राख्दै उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताए ।
संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए ।
‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रूपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने धारणा व्यक्त गरे । उनले आफूसहित सम्पूर्ण राजनीतिक दलहरू सच्चिनु परेको बताए ।
उनले भने, ‘सरकार सरकार जस्तो छैन संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । सबैलाई ठीक लगाउने राजनीतिले हो तर राजनीतिलाई ठिक लगाउने नेताले हो तर नेताप्रति सर्वसाधारणको विश्वास छैन । नेता आउँदा चोर आयो भन्छन् ।’ उनले दलको महाधिवेशन वैधानिकता प्रदान गर्ने मात्रै नभइ नेतृत्व चयन र बिग्रिएको छबी सुधार गर्ने अवसर पनि भएको बताए ।
यसैगरी नेकपा मालेका महासचिव सिपी मैनालीले देशमा बिपी कोइरालाको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेताहरूले भुलेको भन्दै यही कारणले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिएको बताए ।