सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१४ का किसानले तरकारी खेतीबाट मनग्ये आमदानी गरेका छन् । यतिवेला बारीमा लटरम्म फलेका गोलभेँडा र तरकारी टिप्न उनीहरूलाई भ्याइनभ्याई छ । कोही खेतबारीमा फलेका गोलभेँडा टिपिरहेका छन् भने कोही गाडीमा लोड गरिरहेका भेटिन्छन् । कोही चाहिँ हरहिसाबमा व्यस्त देखिन्छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारबाट हरेक दिन दिउँसो ४ बजेपछि साँगाचोक हुँदै गोलभेँडा बोकेर ५ देखि ११ वटासम्म गाडी काठमाडौं जान्छन् ।
कम्तीमा दैनिक सात सय क्रेट गोलभेँडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको यहाँका किसानहरू बताउँछन् । कतिपय व्यापारी त गाडी लिएर किसानको खेतमै पनि पुग्छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरी किसान परिवारले गोलभेँडा खेती गरेका छन् । डडुवाकी मीना नेपालको बारीमा पाँच जना खेताला पाकेका गोलभेँडा टिप्नमा व्यस्त थिए भने एक जना डोकोमा बोकेर बाटोसम्म ओसार्नमा ।
'पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्षअघिसम्म विदेश जाने चक्करमा थिएँ,' मीना नेपालले भनिन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी मीनालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख रुपैयाँ कमाइ हुने उनले बताइन् ।
उनले ४ रोपनी बारीमा गोलभेँडा खेती गरेकी छन् । उनी भन्छिन्, 'श्रीमान् शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासू ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नुहुन्छ ।' खेताला, बिउबिजन, औषधि गर्दा डेढ लाख रुपैयाँजति लगानी परेको उनी बताउँछिन् ।
यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । उनीहरूले मकै दोहाेर्याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाच्ने गर्छन् । बाँकी ढोड गाेलभेँडालाई थाँक्रो हुन्छ । यसले गोलभेँडा खेतीका लागि टनेल बनाउने, छुट्टै थाँक्रो हाल्ने जस्ता लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने गरेको छ । यहाँको माटोमा विनासिंचाई गोलभेँडा फल्ने गरेको छ ।
यो क्षेत्र समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा छ । दक्षिणपट्टि फर्केको यहाँकाे जमिनमा रातो र कालो मिसिएको माटो भएकाले तरकारीका लागि उर्वर मानिन्छ । डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरी हरेक परिवारले मकैभित्र रोपेका गोलभेँडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रूपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख रुपैयाँ आम्दानी गरेका छन् ।
ठूलाे क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका उद्धव नेपालको परिवारले २० लाख रुपैयाँको गोलभेँडा भदौयता मात्रै बेचिसकेको बताए । अहिले गोलभेँडा र काउली मात्र भए पनि सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका किसानले तरकारी बेचेर मात्रै बार्षिक पाँच करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-१४ का अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे दुई लाख नगरपालिकाबाट अनुदान आयो भने साढे दुई लाख वडाले विनियोजन गर्यो । वडाबाट किसानले चार हजार प्याकेटको बिउ अनुदान पाए ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषण गरेपछि व्यवसाय फष्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घर खर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।