सत्तारुढ नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षधरबीचमा स्पष्ट रूपमा विभाजन देखापरेको छ । महाधिवेशन सुरू हुन केही घण्टा बाँकी रहँदा पनि दुवै पक्षमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने आकाङ्क्षीहरूको अडान कायम रहँदा साझा उम्मेदवार दुवै पक्षले तय गर्न सकिरहेको छैन ।
कांग्रेस संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेदवारी लगभग सुनिश्चित भए पनि विगतमा सोही समूहबाट उपसभापति भएका विमलेन्द्र निधिले पनि सभापतिमा अडान नछाडेका कारण विभाजन देखापरेको हो ।
विगतमा देउवालाई सघाउँदै आएका निधिले सभापतिमा उम्मेदवारी दिने भन्दै नयाँबानेश्वर थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरी सभापतिका लागि प्रयास गरिरहेका छन् । देउवाले यसपटकलाई आफू नै उम्मेदवार बन्ने भनी अन्य पदमा बसेर सघाउन आग्रह गरे पनि निधिले सभापतिमा दाबी नछाडेपछि संस्थापन पक्षधर बीचमा स्पष्ट विभाजन देखापरेको हो ।
संस्थापन पक्षधरबाटै पूर्णबहादुर खडका, प्रकाशशरण महत र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि संस्थापन पक्षमा महामन्त्रीमा पनि एकरूपता हुन सकेको छैन । यसैगरी सहमहामन्त्रीमा पनि संस्थापन पक्षका आधा दर्जनभन्दा बढीले दाबेदारी प्रस्तुत गरेपछि सो समूहमा सकस परेको छ ।
यता, संस्थापनइतर रामचन्द्र पौडेल समूहमा भने स्पष्ट रूपमा चिरा परेको छ । बिहीवार राति अबेरसम्म महामन्त्री शंशाक कोइरालाको निवासमा भएको छलफल पनि टुंगोमा नपुगेपछि विगतमा पौडेल समूह भनेर चिनिँदै आएको समूहमा अहिलेसम्म चार जना नै सभापतिका उम्मेदवार देखिएका छन् ।
पौडेल स्वयंले सभापतिमा इच्छा व्यक्त गरे पनि सोही समूहमा महामन्त्री शशांक, प्रकाशमान सिंह र शेखर कोइरालाले पनि दाबी नछाडेपछि सो समूहमा स्पष्ट विभाजन देखापरेको छ ।
गत सोमबारदेखि एकजनामा सहमति जनाउने प्रयासका लागि पटक–पटक वार्ता र छलफल जारी रहे पनि पौडेल समूहले अझैसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । सो समूहले साझा उम्मेदवार तय गर्न नसकेको असर बिहीबारको केन्द्रीय समिति बैठकमा पनि स्पष्ट रूपमा देखापरेको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकमा पौडेल र सिंह दुवै उपस्थित भएनन् । शंशाक र शेखरले रामचन्द्रको पक्षमा सभापतिको दाबीबाट ‘पछि हट्ने’ संकेत गरे पनि प्रकाशमानले दाबी छाडेका छैनन् । अनि प्रकाशमानको नाममा छाड्न शेखर पनि तयार छैनन् । त्यसैले यो समूहबाट साझा उम्मेदवार तय गर्ने सम्भावना क्षीण बन्दै गएको छ । पछिल्लो अवस्थामा पौडेलले ‘सहमति नभए राजनीति नै छाडने’ बताएपछि सो समूहमा खैलाबैला भएको छ ।
बिहीबार दिनभर प्रकाशमान र शेखरलाई मिलाउने प्रयास असफल भएपछि साँझ शंशाक निवास महाराजगञ्जमा साझा उम्मेदवार तय गर्ने बारेमा पुनः छलफल भए पनि सो समूह निष्कर्षमा पुग्न सकेन ।
केन्द्रीय समितिमा नगएका प्रकाशमानले किसुनजीको शालिकमा माल्यापर्ण गर्दै सभापतिको अडानमा आफू कायमै रहेको जनाए भने शेखरले पनि सार्वजनिक रूपमा ‘एक पटक यसै पटक’ भन्दै सभापतिमा दाबेदारी नछाड्ने अडानमा कायमै रहेको सन्देश दिए ।