जनकपुरधाममा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण आज राम र सीताको स्वयंवर र विवाह हुँदैछ । पौराणिक कालमा यसै दिन सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरधाममा यो मेला आयोजना हुने गरेको छ ।
विवाहपञ्चमी महोत्सवअन्तर्गत आज दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयंवर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए ।
आज दिउँसो राममन्दिरबाट रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गराउँदै रंगभूमि मैदानमा लगिन्छ । त्यहाँ पुगेपछि रामको डोलालाई जानकी मन्दिरबाट लगिएको जानकी माताको मूर्तिसहितको मण्डपमा मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादन गर्ने परम्परा छ ।
त्यसपछि राममन्दिरको डोलालाई जानकी मन्दिरका डोलाले पाँचपटक परिक्रमा गराई रामलाई पुष्पमाला अर्पण गरिनेछ । राममन्दिरका महन्तले जानकीलाई माला र आरती पूजनपछि स्वयंवर सम्पन्न हुन्छ ।
त्यसपछि राममन्दिरको डोला र जानकी मन्दिरको डोला अगाडि बढ्दै जान्छ, श्रद्धालु भक्तजन पछिपछि लाग्दै जानकी मन्दिर पुग्छन् । राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुन्छ ।
सप्ताहव्यापी मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
चाडपर्वको बेला कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरले बताए । सुरक्षाका लागि बाहिरबाट सशस्त्र प्रहरीसहित १५ सय सुरक्षाकर्मी मगाइएको उनले बताए । बाह्रबिघा, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटीभीले समेत निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए ।