जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मकरूप धारण गरेका बालकले पनि धनुष भाँचेर धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।
रामायणमा वर्णन गरिएअनुसार परशुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले सो धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फी रूपमा दर्जनौं शक्तिशाली र बलबान राजा महाराजा र राजकुमार सहभागी भए पनि कसैले धनुष हल्लाउन सकेनन् ।
अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो । धनुषको तीन टुक्रामध्ये एउटा आकाशतर्फ गएको, एउटा धनुषाधाममै रहेको र अर्को भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।
सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ मनाइएको छ । विवाहपञ्चमीको चौथो दिन भोलि सोमबार तिल्कोत्सव, मङ्गलबार मटकोर रहेको छ भने बुधबार मुख्य दिन विवाह महोत्सव रहेको छ । बिहीबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।
त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धुमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । गएका दुई वर्ष कोरोना महामारीले गर्दा महोत्सवको विधि मात्रै पुर्याइएको हुँदा यसवर्ष धुमधामसाथ मनाउने तयारी रहेको मन्दिरका महन्थ बैष्णवले बताए ।
अहिले विवाह पञ्चमीका अवसरमा जानकी मन्दिरलाई नवबेहुली झैं सजाइएको छ भने जनकपुरधाम नगर क्षेत्रभर सरसफाइ गरी मुख्य चोकमा प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सवमा सहभागी हुन देशभित्र र भारतसहित तेस्रो मुलुकबाट समेत उल्लेख्य संख्यामा मानिसहरू आउने अपेक्षा गरिएको छ ।