पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रको परिणाम स्वरूप नेपालको मौसममा बदली र वर्षा तथा हिमपातको समेत सम्भावना बढ्दै गएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार पश्चिम नेपालबाट प्रवेश गरेको यो प्रणालीले त्यस क्षेत्रमा बदली कायम गर्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
यो प्रणालीले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुने आँकलन महाशाखाले गरेको छ । आज मुलुकका धेरै क्षेत्रमा बदली रहेको छ, यसले तराई र पहाडी भूभागमा वर्षा पनि हुने ठानिएकाे छ ।
काठमाडाैंमा बिहान घाम लागे पनि बादलले ढाक्दै गएकाे छ ।
हिमपात र वर्षाका कारण जाडो झन् बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानीपूर्वक रहन भनेको छ ।
प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जारी गरेको प्रेस नोटमा मौसम प्रतिकूल भएर पर्वतारोहण, हवाइ र यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने औँल्याइएको छ ।
हिमाली भूभागमा अत्यधिक चिसो बढ्ने र हिमपहिरो समेत जानसक्ने तथा पहाडी र तराईका भूभागमा वर्षासहित चिसोको जोखिम रहेकाले सतर्कताका साथ रहन प्राधिकरणले भनेको हो । योसँगै तराईमा शीतलहर चल्न सक्ने आँकलन गरिएको छ ।