छ महिनाको अवधिमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै शिखर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका म्याग्दीका पर्वतारोही निर्मल पुर्जाको ‘फोर्टिन पिक्स, नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र (डकुमेन्ट्री फिल्म) सार्वजनिक भएको छ ।
पुर्जाको आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको उक्त डकुमेन्ट्री नेटफ्लिक्सबाट सोमबार सार्वजनिक भएको गरिएको हो । उक्त डकुमेन्ट्री १९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ ।
विश्वका सर्वोच्च १४ ओटा हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाका नाममा छ । बेलायती सेनाबाट अवकाश लिएका पुर्जाले केवल ६ महिनामा ती सर्वोच्च हिमालहरु आरोहण गरेका थए । यसअघि उक्त कीर्तिमान ८ वर्षको थियो ।
विसं २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका पुर्जाले सबै शिखरहरू चढ्दै अन्त्यमा सोही सालको कात्तिकमा चीनको सिसापाङ्गा हिमाल आरोहण गरेसँगै सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा माथिका सबै १४ ओटा हिमाल आरोहणको कीर्तिमान बनाएका हुन् ।
नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौँमा यसको प्रिमियर शो गरिएको उनले जानकारी दिए । यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।
पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमानसमेत छ । माउन्ट केटुलाई ‘किलर माउन्टेन’समेत भनिन्छ । पुर्जाको नाममा आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान दर्ता भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा जन्मिएका ३८ वर्षीय पुर्जाले अबको आफ्नो समय नेपालमा पर्यटन प्रवर्द्धनमा केन्द्रित गर्ने बताएका छन् ।
विश्वका ठूला र चर्चित सञ्चारमाध्यमहरुले पनि पुर्जाको यो डकुमेन्ट्रीलाई हेर्नै पर्ने भनेका छन् । द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता ठूला सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेका छन् ।