नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास आज प्रारम्भ भएको हो ।
उक्त प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुईवटा इजलास गठन भएका छन् ।
कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा ?
न्यायाधीशहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । सो इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाङ्को मुद्दा परेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दीप्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाई पाऊँ, किचलो मेटाई हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरु परेका छन् ।
न्यायाधीशहरु दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । यो इजलासमा बन्दी र अन्य विविध खालका मुद्दाहरु रहेका छन् ।
न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ । न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरु अनिलकुमार सिन्ह र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।
न्यायाधीशहरु प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा, न्यायाधीशहरु तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ ।
त्यस्तै, एकल इजलासहरुमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।
गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?
सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोलाप्रक्रियाबाट पेसी तोक्न सुरु गरिएको हो । “गोलाप्रक्रियामा सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारले साप्ताहिक रूपमा पेसी तयार गरी शुक्रबार प्रकाशन गर्नुहुन्छ,” सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “मुद्दाको प्रकृतिअनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरु रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ त्यसै बमोजिम हुन्छ ।”
प्रवक्ता दाहालका अनुसार कुन न्यायाधीश कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशहरुले गोला तान्छन् । दुईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुई न्यायाधीश त्यहाँ रहन्छन् । बाँकी न्यायाधीशहरुको संयुक्त इजलासका लागि तय गरिन्छ ।
“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ”–प्रवक्ता दाहालले भने, “बिजोर गतेका दिन जुनियर मध्येको सिनियर न्यायाधीशहरुले गोला तान्नुहुन्छ र गोलाबाट सिनियर न्यायाधीश तान्नुहुन्छ ।”
यो प्रक्रियामा थैलीमा मुद्दाका लागि क देखि क्रमशः मुद्दाअनुसार गोलाहरु राखिएको हुन्छ । संयुक्त इजलासका न्यायाधीशहरु एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ ।
दक्षिण एसियाको श्रीलङ्काका साथै युरोपेली मुलुकहरुमा अटोमेसन (स्वचालित) प्रणाली प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेसनकै कुरा छ । अटोमेसन लागू नभएसम्मका लागि गोलाप्रक्रियबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।
यसैबीच नेपाल बार एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै गोलाप्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले आजदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।