अमेरिकी अन्तरिक्ष संस्था नासा अन्तरिक्षमा अहिले सम्मको सबैभन्दा शक्तिशाली ‘जेम्स वेब’ नामको टेलिस्कोप प्रक्षेपण गर्ने अन्तिम तयारीमा छ ।
मानवलाई चन्द्रमामा पठाएको एपोलो अभियानमा काम गरेका नासाका पूर्व निर्देशक जेम्स इ. वेब को नामबाट नामाकरण गरिएको ‘जेम्स वेब’ टेलिस्कोपको निर्माणमा ३० वर्ष लागेको छ ।
१० अर्ब अमेरिकी डलर निर्माण लागत रहेको यो टेलिस्कोपलाई २१ औं शताब्दीको सबैभन्दा भव्य वैज्ञानिक प्रयासको रुपमा लिइएको छ ।
ब्रह्माण्डमा रहेका सबैजसो वस्तुको अवलोकन गर्नुका साथै सुरुवाती ताराबाट आउने प्रकाशको पनि अवलोकन गर्ने यो अभियानको मुख्य उद्देश्य छ । ‘महा विस्फोट’ अर्थात् ‘बिग ब्याङ्’ भएको करिब १० देखि २० करोड वर्षपछि अस्तित्वमा आएका सुरुवाती ताराबाट आउने प्रकाश यो जेम्स वेब टेलिस्कोपले हेर्ने छ ।
ब्रह्माण्डमा सुरुवाती प्रकाशको खोजको मद्दतले मानव लगायत प्रत्येक वस्तु कसरी अस्तित्वमा आए भन्ने अध्ययनमा सजिलो हुने वैज्ञानिकहरूको विश्वास छ ।
सन् १९९० मा नासाले अन्तरिक्षमा स्थापना गरेको हबल टेलिस्कोप भन्दा वेब टेलिस्कोप निकै फरक र शक्तिशाली पनि छ । हबल टेलिस्कोपले २ दशमलव ४ मिटरको मुख्य ऐना मार्फत प्रकाश सङ्कलन गर्छ भने जेम्स वेबले ६ दशमलव ५ मिटर व्यास भएको मुख्य ऐनाबाट प्रकाश सङ्कलन गर्ने छ ।
जेम्स वेब टेलिस्कोपले अन्तरिक्षमा आफ्नो पूर्ण आकार लिँदा यो एउटा लन टेनिस कोर्ट बराबरको हुने छ । हबलले पत्ता लगाउन नसक्ने इन्फ्रारेड प्रकाशलाई पनि जेम्स वेबले पत्ता लगाउन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
यहि डिसेम्बर महिनाको २२ तारिखमा फ्रेन्च गुयानामा एरियन ५ रकेट बाट जेम्स वेब टेलिस्कोप प्रक्षेपण गरिने नासाले जनाएको छ । वेब टेलिस्कोप पृथ्वीबाट १६ लाख किलोमिटर टाढा रहने छ ।
हबल टेलिस्कोपको कुनै उपकरणले राम्रो काम गर्न नसक्दा अन्तरिक्ष यात्रुले अन्तरिक्षमै गई मर्मत सम्भार गरेका थिए । तर, पृथ्वीबाट १६ लाख किलोमिटर टाढा रहने वेब टेलिस्कोप एक पटक प्रक्षेपण भई कक्षमा स्थापित भएपछि हबलमा जस्तो त्यहीँ गएर मर्मत सम्भार गर्न सम्भव नहुने टेलिस्कोप निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।
वेब टेलिस्कोप कक्षमा स्थापित भएपछि लगातार १० वर्षको लागि सञ्चालन हुने गरी इन्धनको व्यवस्था गरिएको छ ।