एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएको बताएका छन् । 'आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन । यो पनि उसको गल्ती हो,' उनले भने ।
प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीले आरोप लगाए । 'हामी सुखी नेपाली, समृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं', ओलीले भने ।
एमाले अध्यक्ष ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताए । यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको उनले बताए । ओलीले भने, ‘सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दृढ भएर सामना गर्नुपर्नेछ ।’
राज्य संयन्त्रको दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथक्कीकरणको सिद्धान्त खलबलिंदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने उनले बताए ।
एमाले अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’ एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै ओलीले एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।
उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।