नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । चितवनको नारायणी नदी किनारमा आयोजित एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने हुँदा त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताए । देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल हुन आउन उनले अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
“एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ”, उनले भने, “एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।”
अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको बताए । साथै पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरूलाई आफू नेतृत्वको सरकारले शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याइसकेको भन्दै ओलीले अब कुनै हिंसाको वातावरण नरहेकाले विदेशीहरुले ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताए ।
अध्यक्ष ओलीले महाधिवेशन उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरूपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताए । उनले अर्काे पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे।