काठमाडौंमा केही दिनदेखि मौसम धमिलो हुँदै गएकोमा आज घाम नै कतै नदेखिने गरी बाक्लो तुवाँलो लागेको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणसमेतले गर्दा काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
“अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन”, मौसमविद् बासीले भनिन् । उनका अनुसार मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । त्यस्तो अवस्था नदेखिएकाले तत्कालै मौसममा सुधार हुने सम्भावना नदेखिएको उनले बताइन् ।
पछिल्ला केही दिनयता नेपालमा देखिएको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार स्थानीय वायुको प्रभावले गर्दा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
अहिले दिउँसो प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।