नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई ध्यानमा राख्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज (बिहीबार) साँझ ६ बजेदेखि भोलि (शुक्रबार) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।
विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् । साँघुरो र उकालो/ओरोलो सडक रहेको दाउन्नेमा मालवाहक सवारीसाधनहरूले गर्दा सामान्य अवस्थामा पनि दिनहुँ जाम हुने गरेको छ । त्यसमाथि महाधिवेशनका लागि जाने सवारीसाधनको सङ्ख्या बढी हुने हुँदा तिनको सहजताका लागि ठूला सवारीसाधनमा रोक लगाएको प्रजिअ पङ्गेनीले बताइन् ।
“दाउन्ने सडकको अवस्थाका कारण मालवाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ” प्रजिअ पङ्गेनीले भनिन्, “बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।” अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको उनले बताइन् ।
प्रजिअ पङ्गेनीका अनुसार पूर्व-पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्ती परिचालन गरिएको छ ।
लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी गराउने तयारी एमालेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमदेखि चितवन आउनेहरू दाउन्ने सडक हुँदै आउनुपर्ने हुन्छ ।
एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा भोलि शुक्रबार हुँदैछ । उद्घाटन कार्यक्रममा ५ लाख मानिस उतार्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ ।