श्री पशुपतिनाथको प्रादुर्भावसँगै समस्त सृष्टि, स्थिति र संहारको अभ्युदय भएको मानिन्छ । पशुपतिनाथको सम्बन्धमा सृष्टिकर्ता ब्रह्मा, पालनकारी विष्णु अनि वाक्स्वरूपा माता सरस्वती र अनन्त जिह्वा भएका शेषले समेत महत्व र वर्णन गर्न नसकिने भनिएको छ। भनिएको छ - सातवटा समुन्द्रलाई मसी र पिपलको एउटा सानो डाँठलाई कलम बनाएर चोप्दै लेखे पनि भगवान् पशुपतिनाथको महिमा वर्णन गरेर सकिंदैन ।
मानव सभ्यताको शुरुवात नदी, समुन्द्र, खोलानालानिकट नै भएको प्रमाणहरू हामी विभिन्न पुरातात्विक अन्वेषण अनि अनुसन्धानमा पाउँछौं। पशुपतिनाथको कारणले सबै सभ्यताको शुरुवात भएको पशुपतिपुराण, शिवमहापुराण जस्ता ग्रन्थले प्रकाश पारेका छन् । पाशुपत क्षेत्र वैदिक, तान्त्रिक, जैन, बौद्धमार्गी लगायतका सम्प्रदाय तथा गाणपत्य, सौर्य, वैष्णव एवं शाक्तको समेत प्रमुख क्षेत्र हो । गोपालवंश, महिषपाल वंश, गुप्त, आभिर, किरात, लिच्छवि, मल्लदेखि आधुनिककालसम्म पनि तत्कालीन राष्ट्र, नगर प्रमुख तथा जनताको आराध्यदेवका रूपमा पूजिएका प्रमुख देवता भगवान् श्री पशुपतिनाथ नै हुन् र रहनेछन् । माथि उल्लेख गरिए झैं इसाको आरम्भ हुनुभन्दा पनि अघिदेखिका चैत्य, मूर्ति, धारा, पोखरी, कुण्ड, मन्दिरजस्ता वस्तु अनि वास्तुकलाका प्रामाणिक संग्रह पशुपति क्षेत्रमा हामी पाउदछौं। पशुपति क्षेत्रमा वैष्णवहरूको राम कृष्णका मन्दिर, गाणपत्यका गणेशको मूर्ति, बौद्धमार्गीका चैत्य बुद्धमूर्ति अनि सौर्य सम्प्रदायका सूर्यका विभिन्न मूर्ति र मन्दिर पाइन्छ भने शाक्तको पनि आफ्नै विशिष्ट स्थान रहेको छ। पशुपतिनाथको मूर्तिको अध्ययन गर्ने हो भने पनि विभिन्न मालाले अलङ्कृत दुवै ओठमा लाली लगाउने र शिरमा श्रीखण्ड चन्दनको श्रीयन्त्रमा मध्यमा फुस्रो सिन्दूर लगाउनाले पनि पशुपतिनाथ शिवको मात्र नभई माता शिवाको समेत मन्दिर भएको स्पष्ट हुन्छ। साथै चारै ढोकामा ८ वटा सिहं रहनु, जुन् देवीको वाहन हो त्यसले पनि श्री पशुपतिनाथ मन्दिर शाक्तहरूको समेत महत्वपूर्ण आदिपीठको रूपमा रहेको पाइन्छ; जस्लाइ ज्योतिर्पीठ भन्ने गरिन्छ । नेपालका सबै देवीमन्दिरका पूजारी र श्री पशुपतिनाथ मन्दिरका पूजारीहरूले पूजा गर्दा लगाउने पोशाक समेत एकैरूपका हुनु पशुपतिनाथको मन्दिर स्वयं माता श्री अम्बेको पनि मन्दिर हो भन्ने कुरा स्वतः नै प्रष्ट हुन्छ । तसर्थ पाशुपत क्षेत्रमा रहेका प्रमुख शक्तिपीठहरूले संरक्षित पशुपतिनाथ मन्दिर शाक्तहरूको मुख्य आराधनाको समेत क्षेत्र हो । पाशुपत क्षेत्रमा संरक्षित निम्न पीठहरूबारे वर्णन र जानकारी गराउन चाहन्छु ।
१. गुहयेश्वरी २. वत्सलेश्वरी ३. भुवनेश्वरी ४ .राजराजेश्वरी ५. वज्रेश्वरी ६. वनकाली ७. झंकेश्वरी ८. बालकुमारी ९. जयवागीश्वरी
१. गुहयेश्वरी
वाग्मती नदीको उत्तरवाहिनी क्षेत्रको दक्षिण एवं श्री पशुपतिनाथ मन्दिरको पूर्व दिशा मृगस्थली क्षेत्रमा अवस्थित प्राचीन मन्दिर गुह्येश्वरी मन्दिर हो । ताज शैली अर्थात् श्रीपेच (ताज) शैलीमा रहेको यो मन्दिरको चारैतर्फ ढोका बनाइएको छ। मन्दिरको शोभा बढाउन नागहरू रक्षित छन् भने प्रत्येक तोरणमा निराकार स्वरूपमा कलश राखिएको छ। कलश शब्दलाई विस्तार गर्दा क बाट श्री महाकाली ल बाट श्री महालक्ष्मी र श बाट श्री महासरस्वती हुन्छ। यिनै त्रिदेवीको संयुक्त एवं निराकार स्वरूप कलश हो । गुह्येश्वरीको उत्पत्तिको सम्बन्धमा स्कन्दपुराणमा आफ्ना पति शिवको निन्दा सहन गर्न नसकी सतीदेवी दक्षको यज्ञकुण्डमा फाल हाली अर्थात् अग्निस्नान गरी प्राण त्यागेपछि सतीदेवीको शव बोकेर भगवान् शिव पृथ्वी बिचरण गर्दा भगवान् विष्णुले माखो रूपले वा चक्रले शरीर छेदन गर्दा सतीदेवीको गुह्यअंग सहित गुह्यात्मा नेपालमा पतन भएको र सो स्थानमा गुह्येश्वरी र सिद्धेश्वर महादेव उत्पत्ति भएको उल्लेख पाईन्छ । बौद्ध ग्रन्थहरूमा पनि गुह्येश्वरीको विशेष महिमा पाइन्छ ।
गुह्येश्वरीको मन्दिरमा कहिल्यै नसुक्ने जलकुण्ड समेत रहेको छ । जसको जल सेवन र सेचनले भुक्ति मुक्ति प्राप्त हुने चर्चा हिमवतखण्डमा पाइन्छ । गुहयेश्वरीको मन्दिर प्रताप मल्लको समयमा सिहं ठाकुर एवं लम्वकर्ण भट्टले निमार्ण गरेका र उक्त कुण्ड पत्ता लगाएको इतिहासमा पाइन्छ। गुह्येश्वरी मन्दिरमा प्रत्येक अष्टमी, बडा दशैं, चैते दशैं जस्ता महत्वपूर्ण पर्वमा व्यापकरूपमा तन्त्रको साधनासहित पूजाअचर्ना गर्ने गरिन्छ ।
काठमाडौं उपत्यकाभित्रका देवी पीठहरूमध्ये सर्वप्राचीन र वैदिक एवं तान्त्रिक तथा बौद्धहरूले सम्मान गरिएको देवीको रूपमा गुह्येश्वरीको आफ्नै महत्व छ । गुह्येश्वरी वा गुह्येकसी भनिने यो पीठ सतीदेवीको गुह्य अंग पतन भएर उत्पन्न भएको हो । प्राचीन तन्त्र ग्रन्थमा र पुराणहरूमा पनि यिनको व्याख्या पाइन्छ । षडाम्नायामध्ये उत्तराम्नाको प्रमुख देवीको रूपमा उपसना तथा श्री पशुपतिनाथको विशिष्ट शक्तिको रूपमा सम्मानित गुह्येश्वरीलाई नेपालका महायानी बौद्धहरू स्वयम्भूकी जन्मदात्री पराशक्तिको रूपमा सम्मान गर्दछन् । बौद्ध बंशावाली एवं पुराणको कथन अनुसार अथाह जलमग्न उपत्याकाको जलराशीमा रोपिएको कमलको बीज उम्रिएर स्वयम्भूनजिक विकासित भई त्यसै फूलमा स्वयम्भूको ज्योति उत्पन्न भएको धारणा पाइन्छ । तन्त्रहरूको उपास्यमा चर्चित गुह्येश्वरी पीठको विशेष माहात्म्य उपासनाका विभिन्न मार्ग तन्त्र मन्त्र र सपर्याका विधि विधानहरूको महाङ्काल संहिता नामको तान्त्रिक ग्रन्थमा विशदरूपले वर्णन गरिएको छ ।
नेपाली परम्परामा भगवती गुह्येश्वरी र तुलजा भवानीको समन्वय एवं एकात्मकता मानेको छ । कुण्डरूपमा गुह्येश्वरी पीठ अवस्थित छ भने यन्त्रात्मक रूपमा तुलजा उपासना हुन्छ । तुलजाको बालारूप श्री कुमारी र त्रिपुरासुन्दरीको रूपमा गुह्येश्वरीको मान्यता पनि नेपाली शक्तिहरूको विशेषता हो ।
गुह्येश्वरीमा नित्यपूजा र पर्वपूजा बराबर भइरहन्छ । विशेषतः बर्ष दिनमा तीन नवरात्रका अष्टमीमा र नवमीमा बलिसहित विशेष पूजा हुने गर्दछ । चैत्र शुक्ल पक्षको नवरात्र र आश्विन शुक्लपक्षको नवरात्रका अतिरिक्त भाद्र शुक्लको नवरात्रमा पनि देवीको विशेष पूजा हुनेगरेको छ। मङ्सिर महिनाको कृष्ण पक्षको नवमी र दशमीका दिन गुह्येश्वरीको रथ यात्रा गरिन्छ ।
२. वत्सलेश्वरी
भगवान् पशुपतिनाथको सहचारीणी पार्वतीको नामान्तर श्री वत्सलेश्वरी मन्दिर पशुपतिनाथ मन्दिरको आग्नेय कोण र आर्यघाट एवं भष्मेश्वर घाटको बिचमा रहेको छ । गुह्येश्वरी पीठ उत्पन्न भएसँगै भगवान् शिवको वात्सल्य प्रेमको कारण पार्वतीले शिवको समीप अर्थात् पशुपतिको नजिक बस्ने चाहना अनुरूप पशुपतिको आग्नेय कोणमा बस्ने र उनको दर्शन र पूजनबिना पशुपतिको दर्शन पूजन पूरा नहुने बरदान पाएको उल्लेख छ। श्री वत्सलादेवीको प्राचीन स्थल आर्य तीर्थ अर्थात् आर्यघाटको दक्षिण तटमा अवस्थित छ । यिनी वत्सलाको पूजा आराधना गर्नाले धर्म अर्थ काम मोक्ष नामक चारै पुरुषार्थ प्राप्त हुने हिमवत खण्डको १५४ अध्यायमा उल्लेख छ ।
मन्दिरमा कुनै प्रतिमा नभएको र मन्दिरको चारैवटा ढोका खुल्ला रहने तथा गजुरमा छाता ओढाएको यो वास्तवमै नेपालको विशेष मन्दिर हो। वत्सलादेवीको मन्दिरमा नित्य नैमित्तिक (पर्व) पूजा तान्त्रिक विधिबाट पञ्चमकार अर्थात् मत्स्य, मासु, मदिरा, मुद्रा, मैथुन सहितको तान्त्रिक पद्धतिले पूजा हुने गर्दछ । चैत्र कृष्ण चतुदर्शी, औंसी र बडा दशैको अष्टमी तथा अन्य नवरात्रिको अष्टमीमा यस मन्दिरमा विशेष पूजा हुने गर्दछ ।
यहाँ निराकार यन्त्रमा भगवतीको पूजा हुन्छ जसलाई वत्सलायन्त्र भन्ने गरिन्छ । विभिन्न वंशावली र अनुश्रुति अनुसार परापूर्वकालमा पार्वतीलाई पृथ्वी घुमेर आउने इच्छा भयो र उहाँको इच्छा पूरा गर्न समस्त गणलाई पनि साथैमा जानू भनी भगवान् शिवबाट आज्ञा भयो । पृथ्वी विचरणको क्रममा माता यस स्थानमा आईपुग्नु भयो र यसै क्षेत्रमा केही समय बस्ने विचार गरी गणलाई कैलाश पठाईदिनु भयो ।
पार्वतीलाई लिन प्रमथगण समेत लिई बाजागाजासहित भगवान् शंकर स्वयम् जानु भयो । मातालाई यो ठाउँ छोडेर जान मन थिएन तर स्वयम् शिवजी नै आउँदा अवज्ञा गर्न पनि मिलेन । अतः माताले यस कुराबाट तत्कालीन स्थितिमा छुट्टी पाउन आफ्नो अमोघ जादुले काम लिने उद्देश्यले हातमा लिएको जलपात्रको अभिमन्त्रित जल शिवजी लगायत सबैलाई छर्केर भेडा बनाइदिनु भयो । यो कुरा श्री विष्णुले थाहा पाउनु भयो । तर पार्वतीको अगाडि गएमा आफू पनि त्यस्तै हुने भयले जान सक्नुभएन । अनि सबै देवताको उद्धार गर्ने उद्देश्यले श्री विष्णुले दक्षिणकालीको उपासना गरी प्रशन्न गराई भेडारूप देवगणको उद्धार गर्ने वरदान प्राप्त गर्नुभयो । दक्षिणकालीको निरन्तर जपले सानो बालकरूप धारण हुने र मन्त्रको प्रभावले कसैले नचिन्ने र उद्धार गर्न सक्ने मोहीनी मन्त्र प्राप्तभयो । मन्त्र जप्दै बालकको रूपमा पार्वतीको समीपमा पुगेका विष्णुलाई मताले देवतारूपी भेडा चराउने काम दिनु भयो । एकदिन माताबाट बालकलाई वर माग्ने आज्ञा भयो र बालकले यी भेडा हाम्रा काम छैनन् बलि दिन पाउँ भन्ने बर मागे । माताले होसै नगरी आज्ञा दिनुभएछ र बालकले तुरुन्तै खड्ग लिएर भेडाको गर्दन छिनाउन थाले। भेडा काट्दैगर्दा खड्गमा धार लगाउने सुरमा बालकले मन्त्र जप्न बिर्सेछन् । त्यत्तिकैमा पार्वतीलाई होस आएछ र पार्वतीले पख भनेर कराएपछि भेडारूपी शिवलाई हाँसो उठेछ र आफ्नो रूपमा आउनुभएछ । बालक पनि आफ्नो विष्णुरूपमा आई शिव पार्वतीको स्तुति गर्नु भयो । खुशी भएका शिव पार्वतीले वर माग भन्दा सबै देवतागण जीवित होउन र आफ्नै स्वरूपले बाँच्न पाउन् भन्ने वर माग्नु भयो । पुनः जीवन पाएका देवताहरूले पार्वतीसहित शंकर र विष्णु्को अर्चना र बन्दना गरे । तत्पश्चात् पार्वतीले विष्णुलाई आज्ञा भयो - तपाई यो चरित्र सम्झाउने सानो बालक भएर यहीं बस्नुहोस्, तपाईको दर्शन गरेर पापीहरूले आफ्नो पाप नाश गर्ने छन् । विष्णुले यो आज्ञा शिरोधार्य गरी वटुकरूप भई बत्सालाको नजिकै निवास गर्नुभयो । आज पनि वत्सलामाईको दक्षिणपट्टी सानो मन्दिर छ । जहाँ वटुकरूप विष्णु बस्नुहुन्छ ।
विष्णुलाई त्यहीं बस्ने वरदान पछि शिवजीले कैलाश जाउँ भन्दा माताले यो रमणीय ठाउँमा हामी पनि सबै देवताकासाथ बसौं न भनी ढिपी गरेपछि भगवान् शिव ज्योतीरूपमा श्री पशुपतिनाथ नामले यसै क्षेत्रमा रहनु भयो र पार्वतीले बालक विष्णुलाई वात्सल्य प्रेम गर्ने आमाको रूपमा यहाँ रहनु भएकोले वत्सलेश्वरीको रूपमा प्रख्यात हुनुहुन्छ ।
३. भुवनेश्वरी
पशुपतिनाथ मन्दिरको बाहिरी ढोकाबाट दक्षिण पश्चिम दिशामा अर्थात् नैऋत्य दिशामा अति प्रचीन भुवनेश्वरी मन्दिर छ । नेपालमा रहेको शक्तिहरूको उपास्य एवं तन्त्रको मूल आधार दश महाविद्याको समेत मुख्य देवीको रूपमा श्री भुवनेश्वरी प्रमुख देवी हुन्। भुवनेश्वरीलाई आदिशक्ति पनि मानिन्छ । यिनलाई सताक्षी र शाकम्भरी नामले पनि पुजिन्छ । यिनको स्वरूप सौम्य र अङ्ग कान्ति अरुण हो । भक्तजनलाई सिद्धि प्रदान गर्ने माता भुवनेश्वरीको गुण नै हो । दश महाविद्यामा माता भुवनेश्वरीको आराधनाले सूर्यको समान तेज र ऊर्जा प्राप्त हुने मानिन्छ । माता भुवनेश्वरीको बडा दशैं, चैत्र अष्टमी र भाद्र अष्टमी लगायत विभिन्न पर्वहरूमा बलि सहित तन्त्रोपचारले पूजा गर्ने गरिन्छ । पशुपति क्षेत्रमा मनाईने त्रिशुल जात्रा, बनकाली जात्रा, दुःदुः च्या जस्ता विभिन्न जात्राको यस मन्दिरसँग प्रत्यक्ष सम्बन्ध रहेको पाईन्छ ।
४. झङ्केश्वरी
पाशुपत क्षेत्र योगेश्वर योगीनी, भैरव भैरवी, वराह वाराही जस्ता विभिन्न शक्तिहरूले संरक्षित क्षेत्र हो । यहाँको प्रमुख उग्रपीठ मध्ये झङ्केश्वरी पनि एक हो । स्थानीय अनुश्रुति अनुसार पशुपतिनाथ मन्दिरको नैॠत्य कोणमा अर्थात् अरिणी शिलाबाट दक्षिण र शंकराचार्य मठको पूर्वपट्टि झङ्केश्वरीको मन्दिर छ। सतीको झुम्कासहितको कान पतन भएको हुँदा यस क्षेत्रको नाम झङ्केश्वरी रहन गएको भन्ने कथन छ । साथै यस क्षेत्रमा भगवान् शिवको मनसम्प्रादायको काल्पनिक मतको साधना स्थल समेत रहेको अनुश्रुति पाईन्छ । मुख्य मन्दीरमा उग्रपीठलाई घोप्टाएर राखिएको छ जसमा भैरव पात्र र ६ वटा प्वालहरूमा भैरव वा भैरवी रूपमा कुमार वा कौमारी शक्तिको रूपमा शिवगणको प्रतीक मानिन्छ । साक्षत् उग्रपीठको दुनिया पूजा अर्थात् पिशाच चतुर्दशीको दिन यस पीठमा भेडा सहितको बलिपूजा रात्रिमा गर्ने परम्परा रहेको छ । यी देवीको पनि स्वरूप प्रतिमा नभइ निराकार रूपमा शिलाले छोपेर राखेको पाईन्छ ।
५. बज्रेश्वरी
पशुपतिनाथ मन्दिरभन्दा दक्षिण तिलगंगाको परिपट्टि अहिलेको चक्र पथको तल यो पीठ रहेको छ । यहाँ फागुन शुक्लएकादशी मृगशिरा नक्षत्र मङ्गलबारको दिन महालक्ष्मीको जन्मजयन्ती मनाईन्छ । बज्रेश्वरी नामले चिनिने महालक्ष्मीको पशुपतिमा उत्पन्न भएकोबारेमा पनि एउटा कथा छ। प्राचीन समयमा पिंगल नाम गरेको पोडेले पशुपतिको दक्षिण ढोकाबाट बाहिर निस्कन लागेकी एउटी सुन्दरीलाई देखेछ । पहिले कहिल्यै नदेखिएकी सुन्दरी हुँदा ऊ पनि पछि लागेर गएछ। हालको पिंगला टोलमा भएको वाग्मती किनारामा रहेको श्मशानमा पुगेपछि नृत्य गर्न लागेको क्षेत्रपाललाई पनि देखेछ ।
मध्यरातमा मसानमा नृत्य गर्ने भैरव र ती सुन्दरी त्यही मसानमा अलप भएछन् । यो देखेपछि पिगंललाई यि देवी नै हुन् भन्ने लाग्यो र देवीको दर्शन पाउने आशाले त्यसै ठाउँमा बसी देवीको ध्यान गरी तपश्वी जीवन बिताउन थाल्यो । धेरै दिन यसरी बितेपछि फागुन कृष्णएकादशिका दिन अरु धेरै देवी देवता भैरवहरू पनि त्यसै स्थानमा भोज खान जम्मा भए । भोजमा भाग लगाउँदा जे पनि एक भाग बढी नै हुँदो रहेछ । यो देखी आश्चर्य मानेर भाग लगाउनेले प्रश्न गर्दा बज्रेश्वरीबाट आज्ञा भयो “मेरो दर्शन पाउन एउटा भक्त तपश्यारत छ त्यसैले भाग बढी भएको हो”। देवीको आज्ञा सुनेर त्यसलाई पनि भोज खुवाउनु पर्यो भनी खोजी गरेर ल्याई भोज खुवाएपछि तिमी किन मेरो ध्यान गरेर बसेको भनी सोध्दा पिंगलले बिन्ति गर्यो - यो देशमा चारै बर्णकासाथ हजुरलाई रथारोहण गराई चैत्र औशीमा जात्रा गर्ने मेरो ईच्छा छ। देवीले भन्नुभएछ - म यो देवपत्तनमा महालक्ष्मीको रूपमा बसेकी छु। चारै बर्णबाट मेरो आमन्त्रण गरी पूजा गरेपछि मात्र अन्य देव देवी पीठको पूजा यात्रा गर्नु । तिम्रो ईच्छा पूरा हुनेछ । चैत्र औशीमा बज्रेश्वरीको आमन्त्रण पूजा र जात्रा पछि मात्र पशुपतिनाथमा अन्य जात्रा हुने चलन पशुपतिमा अहिले पनि छ । पिगंलको तपश्याबाट महालक्ष्मी प्रशन्न भएको हुदा उनै पिंगलको समेत नाम जोडी यिनै बज्रेश्वरीलाई पिंगलामाई भन्ने चलन छ ।
६. नवदुर्गा
पशुपतिनाथको सन्निकट दक्षिण दिशामा राजराजेश्वरी अर्थात् नवदुर्गा को प्राचीन पीठ को मृण्मय प्रतिमाहरू छन् । यिनको प्रतिमूर्ती राजधानीको टेकुमा समेत छ । पशुपतिको नवदुर्गालाई मन्दिरका पूजारीबाट मात्र पूजा गरिन्छ भने टेकुमा सबैले स्पर्श सहित पूजा गर्न पाइन्छ ।
नवदुर्गा पीठ अति उग्र पीठ हो । मण्डप शैलीमा निर्मित यो मन्दिरभित्र श्री गणेश, शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा , कूष्माण्डा ,स्कन्दमाता ,कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीका मृण्मय मूर्ति रहेका छन। जसको १२ बर्षमा रङ्गरोगन गर्ने परम्परा छ । राजराजेश्वरी परिसरमा विभिन्न
देवीका मूर्ति ,देवताका मूर्ति, शिवालय , सत्तल अनि प्राचीन धुनी समेत छन्।
भक्तपुरबाट सपर्या गर्न आउने नृत्यका नवदुर्गा यस मन्दिर परिसरमा आउनु हुँदैन। कारण यस मन्दिरमा सबै जनावरको बलि भएपनि मु बा ( सुगुंर)को बलि हुँदैन तर भक्तपुरबाट आउने नवदुर्गा को नृत्यका देबगणलाई मु वा दिन पर्ने चलन छ ।
त्रिकाल बाजा धुनी र विभिन्न सांस्कृतिक पक्ष रहेको यो मन्दिरमा हरेक अष्टमीमा विशेष पूजा हुने गर्दछ ।
७. बालकुमारी
भुवनेश्वरी मन्दिरबाट पश्चिम वर्तमान राम जानकी जीवन कुञ्ज अगाडि इटाटोल जाने ठाडो बाटोसँग जोडिएको मन्दिर बालकुमारी मन्दिर हो । बालकुमारी माता भुवनेश्वरी र माता वनकालीको बालस्वरूप हो। यो पीठ अति प्राचीन पीठ हो । किंवदन्ती अनुसार कुनै एक ऋषि मृगस्थलीमा माता भुवनेश्वरीको ध्यानमा बस्दा उनका सामु एक बालिका जहिले पनि खेलिरहने गर्दथिन । अति नै सुन्दर ती बालिका कहिले कालो वर्ण त कहिले अति नै झल्झलाउँदो वर्णकी देखिन्थिन्। तपश्वीलाई कौतुहल भएछ र एकदिन ती बालिकाको पछि पछि लाग्दै गएछन्। बालिका हालको मन्दिर भएको ठाउँमा पुगेपछि अलप भइछन्। तपश्वी पुनः ध्यानमा बस्दा बालिका फेरि खेल्न आइछन् र ऋषिले पनि उनैको स्तुति गर्न थालेछन्। त्यसपछि ती बालिकाले काली र भुवनेश्वरीको रूपमा दर्शन दिएको र यसै मन्दिर रहेको स्थानमा बाल स्वरूपमा रहने आज्ञा भएकोले बालकुमारी भन्ने नाम रहन गएको किंवदन्ती छ। नेपाल मण्डलमा ३२ लक्षणकी कन्यालाई मेरै स्वरूपमा पुज्नु जो म स्वयं नै हुने छु भन्ने देवीको आज्ञा बमोजिम कुमारी पूजाको शुरुवात भएको मानिन्छ । यस मन्दिरमा मयुर आसनमा बिराजित बालकुमारीको मूर्ति छ । सिटी नखः, पाहाँचह्रे, अष्टमी जस्ता पर्वमा यस मन्दिरमा विशेष पूजा हुन्छ भने स्थानीयहरूको इष्टदेवीको रूपमा पुजिदै आएको छ ।
८. जयवागीश्वरी
जयवागीश्वरी सरस्वतीकै अर्को नाम हो। वंशाबलिको कथन अनुसार शहरबासीको जिब्रो लटपटिएर लठेब्रा भई बोल्न नसकेकोले श्री पशुपतिका मुल पूजारीले पशुपतिको आगम घरका पूजारीको घरमा बसी ध्यान गर्दा आकाशवाणी भएछ - यहाँ सरस्वतीको बास नभएकोले मानिसहरू बोल्न नसकेका हुन्। यहाँबाट उत्तर मानसरोबर क्षेत्रको सिंहल द्वीपको शिला नदीमा नील सरस्वती देवी छिन्, तिनीलाई यहाँ ल्याएमा सबै निको हुन्छ । आकाशवाणी बमोजिम यहाँका तान्त्रिक पूजारीहरू त्यस ठाउँमा पुगी ध्यान जप पूजा गर्दा शिला नदीको बिचमा एउटा गोलो ढुगांमा बसेकी सरस्वतीको दर्शन पाए । माताले वर माग्न आग्रह गर्दा माताको लावण्यले मोहित भई बोल्न सकेनन्। माताले मोहभंग गरिदिएपछि श्री पशुपतिनाथको आज्ञाले हजुरलाई लिन आएका हौं भने। माताले आज्ञा भएछ - यही रूपले मैले जानु हुँदैन तिमिहरू गएर मेरो ध्यान र आहवान गर, म भमराको रूपमा आउनेछु। मलाई नित्य स्नान गर्न यहीं आउन पर्नेहुन्छ र आसन पनि यही शिलाको हुनु पर्छ। यसै शिलामा बसी स्नान गर्छु भनी माता अन्तर्ध्यान हुनु भएकोले तान्त्रिकहरू फर्केछन् । यहाँ आई पुनः श्री पशुपतिनाथको ध्यान गर्दा फेरि आकाशवाणी भयो - तिमीहरू उत्तरपट्टी पहाडमा गएर खनी हेर, त्यहीं शिला नदी र शिला आइपुग्दछ । आकाशवाणी अनुसार त्यस स्थानमा खनेर हेर्दा जतासुकै जल भेटिएछ र आसनको शिला पनि त्यहीं आइपुगेछ। यसरी माताको आदेश अनुसार मन्दिर बनाई आहवान गरी कलश राखेर देवीलाई स्थापना गरिएछ ।
जयवागीश्वरीको १२ बर्षमा कलेवर फेरिन्छ । १२ बर्षमा रङ्ग रोगन गर्ने र कलेबर फेर्ने कार्य अशुंवर्माले चलाएको भन्ने वंशाबलिमा उल्लेख पाइन्छ ।
रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ।
त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति।। दुर्गा सप्तशती ।।
सन्दर्भ ग्रन्थ
१. कोइराला कुलचन्द्र नेपाल का आराध्यदेब श्री पशुपतिनाथ
२. हिमवत्खण्ड
३. विश्व ब्रह्माण्डपति पशुपति
४. पं. लोकनाथ अचार्य - पशुपति माहात्म्य
५. भाषा वंशावली