धनुषास्थित कमला नदीमा आजका दिन भूत मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा नुहाएपछि तान्त्र विद्या सिद्ध हुने जनविश्वासकासाथ ठूलो संख्यामा श्रद्धालुहरू जम्मा भएका छन् ।
श्रद्धालुहरुले चिसो मौसमको पर्वाह नै नगरी शुक्रबार बिहान २ बजेदेखि नै कमला नदीको धार (पानी)मा डुबुल्की लगाइरहेका छन् । कतिपय व्यक्ति बिहीबार साँझ नै कमला नदीको तटमा पुगेर त्यहीँ बास बसेका थिए ।
मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गर्दछन्।
देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वरदान दिने तथा धामी विद्यामा पक्का हुने विश्वास उनीहरूमा देखिन्छ । पेहेँलो धोती लगाएका पुरुष र पहेलै सारी लगाएका नारी सिकारु धामीहरू माटोको भाँडोमा आगोको अर्घ्य लिई देवीदेवतालाई चर्को स्वरमा बोलाउने गर्छन् ।
पापकी छय, धर्मकी जयलगायतका नारा लगाई नयाँ सिकारु धामी-धामीनीहरू पानीमा डुबल्की लगाइरहँदा बाहिर छेउछाउमा पहिलादेखि नै तान्त्रिक विद्यामा सिद्ध भएका धामी तथा उनका सहयोगीले झाल, ढोल, मालद बजाउँदै महराई (लोकगीत) गराइरहेका हुन्छन् ।
कमलामा स्नान गरिसके पछि घर फर्कने वेलामा उनीहरूले जनकपुरधामस्थित गंगासागरको पानीसमेत लिएर घर जाने परम्परा छ ।