सप्तरी । कक्षा १० मा अध्ययनरत राजविराज नगरपालिका-२ की पार्वती रजक कत्तिक अन्तिम सातादेखि विद्यालय गएकी छैनन् । बिहान ८ बजेतिर धान काट्न खेतमाा गएपछि दिउसो २ बजेतिर मात्रै घर फर्किन्छिन् । धान काट्ने सिजन भएकाले उनलाई विद्यालय जाने फुर्सद नै छैन ।
कात्तिक पहिलाे सातामा आएको बाढीले आधा धानबाली सखाप गर्यो । बाँकी रहेकाे धान पनि झर्न थालेपछि आफूसहित बहिनी पनि धान काट्नमा व्यस्त रहेको उनले बताइन् ।
पार्वती मात्रै हाेइन यस क्षेत्रमा रहेका सबैजसाे विद्यालयमा अचेल छात्राहरू देखिंदैनन् । धान नभित्र्याएसम्म यहाँका विद्यालयमा छात्राकाे उपस्थिति शून्यजस्तै हुन्छ ।
सोही ठाउँकी कक्षा १० मै अध्ययनरत पुनिता मण्डल पनि हिजोआज धान काट्न व्यस्त छिन् । बिहानदेखि बेलुकासम्म धान काट्न भ्याईनभ्याई भएपछि पढ्न लेख्न समय नै नभएको उनले बताइन् । उनले भनिन्, ´आधाभन्दा बढी धानबाली बाढीले सक्यो । बाँकी रहेको धानको मात्र आशा छ। त्यो पनि बेलैमा भित्र्याइएन भने वर्षभरि भोकै बस्नुपर्ने बाध्यता हुन्छ।'
सप्तरीको राजदेवी ठाको देवी जोगेन्द्र भगत माध्यमिक विद्यालयका प्रधान अध्यापक दिनेशप्रसाद यादवले अहिले जिल्लाको ग्रामीण भेगमा विशेषगरी छात्राहरू धान काट्न व्यस्त भएको बताए । विद्यार्थीहरू निकै थोरै हुन थालेपछि दुई तीन वटा सेक्सनलाई सँगै मिसाएर पढाउने गरेकाे उनले बताए ।
उनले भने,`धान लगाउने असार साउन र भित्र्याउने कात्तिक, मंसिरमा अरू बेला भन्दा विद्यार्थीको उपस्थिति कम हुन्छ ।' कोरोनाले डेढ वर्ष विद्यार्थीको पठनपाठन त्यसै अवरुद्ध भएको बेला फेरि अहिले विद्यालयमा विद्यार्थी पातलिएको देख्दा चिन्ता लागेको उनले बताए ।