कपिलवस्तुमा हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप खुवाइने भएको छ । कपिलवस्तुका पाँच स्थानीय तहमा १८ असोजदेखि हैजा फैलिंदा ६ जनाको मृत्यु भइसकेको छ । हैजा क्रमशः घट्दै गएको भएपनि यसको जोखिम नियन्त्रण भइनसकेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कलेरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो ।
कृष्णनगर नगरपालिकामा असोज १८ गतेदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ । यी स्थानका एक वर्षदेखि माथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सञ्चालन हुनेछ ।
साढे दुई लाखलाई हैजाविरुद्धको खोप
विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि दुई लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराउने भएको छ । खोप आइतबार काठमाडौं आइपुगेको छ । जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । कोटाअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार ७ सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार १ सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७ सय ४३, शिवराज नगरपालिकामा ६४ हजार ७ सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार ९ सय ३ डोज खोप वितरण हुने स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक उमेशचन्द्र घिमिरेले बताए ।
शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । हैजा प्रभावित शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीका अनुसार खोप अभियानसँगै नियन्त्रणका अन्य उपायहरू पनि अघि बढाउने योजना बनाइएको छ ।
हैजाको उपचार गर्न अस्पताल जाने घटे
असोज १८ देखि आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगन्जमा १ हजार ३ सय ७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । सो कार्यालयका अनुसार हैजाबाट जिल्लाभरमा ६ जनाको मृत्यु भएको भएपनि अस्पतालमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन । हैजाको सिकायत लिएर तिहारपछि औसत ६ जना बिरामी दैनिक आउने गरेकामा हिजो आइतबार कुनै विरामी नआएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।