कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्दैछ । विद्यालय खोल्ने विषयमा सीसीएमसीले कुनै निर्णय लिनेतर्फ धेरै अभिभावक र विद्यार्थीको चासो रहेको छ । हिजो शिक्षाका सरोकारवालाहरुसंग छलफल गरेकोमा आज उसले आफ्नै बैठक आयोजना गरेको हो । अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ ।
कोभिड १९ का कारण मुलुकभर जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइनुका साथै सार्वजनिक यातायात र कार्यालयहरु सञ्चालनमा आएपछि कहिलेदेखि शिक्षण संस्था सञ्चालनमा आउँछन् भन्ने चासो सबै तिर रहेको छ । स्वास्थ्य मन्त्रालयले अझैपनि शिक्षण संस्था सञ्चालन गर्न नहुने बताइरहेका बेलामा केही स्थानीय तहहरुले प्रत्यक्ष उपस्थितिमा कक्षाहरु संचालन गरिसकेका छन् ।
हिजोको बैठकमा १ सय भन्दा कम विद्यार्थी भएका १५ हजार विद्यालय सञ्चालन गर्नुपर्ने, शिक्षण संस्था सञ्चालनको निर्णय गर्ने अधिकार जिल्लामा रहेका संकट व्यवस्थापन केन्द्रलाई जिम्मा दिनुपर्ने सुझाव दिइएको थियो । यसैगरि १२ बर्षमाथिका विद्यार्थी तथा सम्पूर्ण शिक्षकलाई खोप लगाउने व्यवस्था हुनुपर्ने, कुनैपनि वैकल्पिक विधिमा नजोडिएका विद्यार्थीलाई स्थानीय तहको सक्रियतामा अध्ययन सामग्री उपलब्ध गराउनुपर्ने बारेमा समेत छलफल भएको थियो ।
चिकित्सा, प्राविधिक लगायतका विषयमा प्रयोगात्मक कक्षा हुनुपर्ने भएको हुँदा यस्ता कक्षा सञ्चालन गर्न अनुमति दिनुपर्ने तथा विद्यालय सञ्चालनका सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत बर्षको माघ महिनामा जारी गरेको विद्यालय पुन: सञ्चालन सम्बन्धी कार्यढाँचालाई पालन गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो ।
बैठकमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले सिसिएमसीले मुलुकभर एकै पटक शिक्षण संस्था खोल्ने अथवा बन्द गर्ने निर्णय गर्नुभन्दा जिल्लाको अवस्थाका आधारमा निर्णय गर्ने प्रणालीको विकास गर्नुपर्ने सुझाव दिइएको बताउनुभयो । यसैगरी स्वास्थ्यसंगै शिक्षालाई संगसंगै लैजाने उपायका बारेमा समेत बैठकमा छलफल भएपनि प्रधानमन्त्रीसंग छलफल गरी निर्णयमा पुग्ने भनाइ सीसीएमसीका पदाधिकारीले दिएको जानकारी भण्डारीले दिनुभयो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विभिन्न विश्वविद्यालय, अभिभावक महासंघ, निजी विद्यालय तथा सशस्त्र र नेपाल प्रहरीका प्रतिनिधि र शिक्षाविद् उपस्थित बैठकमा शिक्षण संस्था सञ्चालनका विभिन्न विकल्पका बारेमा छलफल भएको थियो ।