पर्वतको फलेवास नगरपालिका-८ ठानामौलाका वासिन्दाका लागि पहिले जानीनजानी सुरू गरेको धर्मभकारी अहिले दुःखको सहारा भएको छ । गाउँमा कसैको घरमा खाने अन्न भएन, कुनै विपत परेर खानै नपाउने अवस्था आयो वा आर्थिक अभावमा कसैलाई अस्पताल पुर्याउन सकिएन भने धर्मभकारी नै सहाय हुने गरेको छ।
तत्कालीन समयमा गाउँमा वन नभएको अवस्थामा वृक्षरोपण गरी लोसेको वन संरक्षणका लागि वनका हेरालु राख्न स्रोत नभएकाले गाउँले मिली कोदो उठाएर ‘धर्मभकारी’ स्थापना गरेका थिए । अहिले सो धर्मभकारी सबैका लागि साहारा बनेको स्थानीय श्यामबहादुर कुँवरले बताए ।
धर्मभकारीमा रहेको अन्न प्रायः जेठ महिनामा बाँडिने हुँदा मङ्सिरसम्म भकारी खाली रहने र मङ्सिरमा सबैले अन्न फिर्ता गर्ने हुँदा भरिने गर्दछ । अन्न धेरै जम्मा भएको अवस्थामा गाउँलेको भेलाले बिक्री समेत गर्ने गरेको छ । स्थानीय रत्नबहादुर गुरुङका अनुसार ठानामौलाका साविक वडा नं ३, ४ र ५ का गाउँलेले ४/४ मना अन्न सङ्कलन गरेर सुरु गरेको भकारीमा अहिले ४० मुरी अन्न पुगेको छ । विसं २०५८ मा स्थापना भएको यो भकारी अहिले स्थानीय विपन्नको सहारा बनेको उनले बताए ।
भकारी स्थापना भएदेखि ठानामौला र आसपासका बासिन्दाले हरेक बाली पाकेपछि आफ्नो क्षमताअनुसारको अन्न यहाँ ल्याएर जम्मा गर्छन् । ठानामौलाका साविक वडा नं ३, ४ र ५ का गाउँले मिलेर सञ्चालन गरेको ‘धर्मभकारी’ दुःखका बेला सहारा बन्दै गएको छ । अन्नमात्रै होइन, त्यहाँ पुग्नेहरूले आफ्नो गच्छेअनुसार रकमसमेत दान गर्ने गरेका छन् । सहयोगवापत सङ्कलन भएको अन्न र अन्य सामानबाट समस्या परेकालाई सहयोग गर्ने गरिएको छ । ‘अन्नभकारी’मा सहयोग गर्ने दाता पनि पछिल्लो समय बढ्दै गइरहेको गुरुङ्ले बताए ।
‘धर्मभकारी’मा एक व्यक्तिले हरेक वर्ष पाँचदेखि १० पाथी अन्न नियमित दान गर्छन् । गाउँमा कतैकतै मात्र सुन्न पाइने ‘धर्मभकारी’ले साँच्चिकै धार्मिक काम गरेको भन्दै स्थानीयहरू यसको प्रचार र सुदृढीकरणमा जुटेका छन् । बर्खे खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउँले भेला भएर यही अन्न पैँचो लगेर काम चलाउँछन् भने हिउँदमा सबैले आफूले लगेको अन्नमा केही थपेर ‘धर्मभकारी’लाई फिर्ता गर्ने चलन अहिलेसम्म चलिआएको छ ।
धर्मभकारीबाट कोदो लाने व्यक्तिले १० पाथी कोदो लगेमा दुई पाथी थपेर मङ्सिरमा फिर्ता गर्ने गरेका छन् । भकारीबाट कोदो सापटी लगेपछि कोदो नै फिर्ता गर्नुपर्छ, पैसा तिर्न पाइँदैन । आफूले लगेको अन्न मङ्सिरमा फिर्ता गर्नुपर्ने भएकाले उसले आफ्नो बारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानीयस्तरमा कोदोखेती पनि लोप नहुने समितिका सदस्य रत्नबहादुर गुरुङले बताए ।