काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकोले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ गरी थप पानी उपलब्ध गराउन लागिएको हो ।
मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ । पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए ।
उपत्यकावासी वर्षौंदेखि पर्याप्त पानीबिना नै जीवन निर्वाह गर्न बाध्य छन् । खानेपानीका धारामा पानी पुर्याउन नसकिएका स्थानमा पनि ट्याङ्करबाट सार्वजनिक ट्याङ्कीमा भरेर सुख्खा व्यवस्थापन गरिने उनले बताए । लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा डीप बोरिङ् गर्ने भएको छ । भइरहेका मुहान बढाउँदा र डिप ट्युबवेलसमेत गर्दा हाल भइरहेको पानीमा एक करोड लिटर थप हुने उक्त कार्यालयको आकलन छ ।
हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी मात्रै वितरण भइरहेको छ । लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा-बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ ।
काठमाडौंमा मेलम्चीको खानेपानी ल्याउन अझै लामो समय लाग्ने भएपछि यहाँको गर्जो टार्न वैकल्पिक स्रोतको खोजी भैरहेको हो । मेलम्ची खानेपानी आयोजनाको मुहानमै गएको वर्खाको बाढी पहिरोले निकै ठूलो क्षति पुर्याएको छ ।