सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीमा प्रारम्भ हुने यो पर्व सप्तमीको दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ । चतुर्थीदेखि नै स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको छ ।
राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ । यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न भयो । व्रतालुले जलाशयमा गएर सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिए । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन आकर्षक रूपमा सिंगारिएका घाटहरूमा हजारौँ व्रतालुको घुइँचो लागेको थियो ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट, रानीपोखरी कमलपोखरी लगायतका स्थानमा पनि विशेष महत्वका साथ मनाउन थालियो । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ ।
गुह्येश्वरी गौरीघाट क्षेत्रमा ६७५ वटा छठ घाटअर्थात् पूजास्थल निर्माण गरिएको थियो । तीमध्ये ३० वटा विपन्न वर्गलाई पर्व मनाउन निःशुल्क दिइएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंहले जानकारी दिए । अरु पूजास्थल रु १ हजार १०० शुल्क लिई व्रतालुलाई उपलब्ध गराइएको थियो ।