सल्यानको कालीमाटीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको भे १ ज ५२२ नं को यात्रुबाहक जीप दाङको बबई गाउँपालिका-२ एक्लेबरमा आज बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी पार्वती वलीलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । त्यस्तै ९ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका-३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक सुनार गाडी मालिक हुन् ।
प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका-२ बस्ने ३० वर्षीया पार्वती वली, सल्यान कालीमाटी-३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका-२ बगाले बस्ने २३ वर्षीया पवित्रा ओली र उनका छोरा ३ वर्षीय दिनेश ओली छन् ।
अन्य घाइतेमा कालीमाटी-३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई-२ बस्ने ३२ वर्षीया कमला बस्नेत तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी-९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी-३ बस्ने १७ वर्षीया सपना ओली र शान्तिनगर-४ बस्ने ५५ वर्षीया खली ओली छन् ।
यस्तै अन्य घाइतेमा बाँके कोहलपुर नगरपालिका- ४ बस्ने ३२ वर्षीया दीपा ओली, उहाँका छोरी १५ वर्षीया सङ्गीता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी, बर्दिया बासगढी मोतीपुर बस्ने २८ वर्षीया सुशीला राणा, बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उनका छोरा ७ वर्षीय लोकेन्द्र बुढाथोकी छन् ।
जीपका चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।