कोरोना भाइरसको असरका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये चलचित्रक्षेत्र पनि एक हो। लकडाउन खुलेसँगै अरु क्षेत्र केही क्रियाशील भएपनि चलचित्रक्षेत्र खुल्ने कुनै टुङ्गो छैन। दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएकोले यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो अझैसम्म खुल्न सकेको छैन।
नेपाल चलचित्र सङ्घका अनुसार कुल निर्माण भएको चलचित्रमध्ये चारदेखि पाँच प्रतिशतले मात्रै नाफाको व्यापार गरिरहेको चलचित्रक्षेत्र कोरोना भाइरसको जोखिमपछि शून्य अवस्थामा झरेको छ। सङ्कटबाट माथि उठ्दै आएको चलचित्रक्षेत्र पुनः सङ्कटकै अवस्थामा पुगेको छ। कोरोना त्रासका कारण नेपाली चलचित्रले झण्डै दुई वर्ष त गुमाइसकेको छ भने, अझै कति समय गुमाउनु पर्ने हो, निधो छैन। अवस्था समान्य होला र चलचित्र प्रर्दशन गरौंला भनेर दर्जनौं चलचित्र अहिले थन्क्याएर राखिएको अवस्था छ । तर यो पर्खाइ कहिलेसम्म ?
सङ्क्रमणको जोखिम हटिनसकेकाले सरकारले हल खोल्ने अनुमति दिए पनि दर्शकहरू चलचित्र हेर्न हलमा जालान् भन्ने कुरामा पनि शङ्कै छ। अर्कातर्फ यो चुनौतीकाबीच चलचित्र प्रदर्शन गर्न निर्माता तयार हुन्छन् कि हुँदैनन् भन्ने पनि छ । यस विषयमा चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान स्वयं संशयमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हल खुलेपनि दर्शक हलसम्म आउनेमा शङ्का छ । फेरि महामारीको चुनौती मोलेर निर्माताहरू फिल्म लगाउन कति तयार हुने हुन् त्यो पनि चुनौतीकै विषय छ ।“
सङ्घकै महासचिव अशोक शर्माका अनुसार वितरकहरू एकदर्जन भन्दा बढी चलचित्रमा कमिसनकै भरमा चर्को ब्याजको लगानी गरेर स्थिर बसेका छन्। तेत्तीस प्रतिशत ‘अकुपेन्सी’लाई शतप्रतिशत मानेर लकडाउनपछि हल खोल्न सक्ने भनिए पनि दर्शक आउने निश्चितता छैन। त्यसैले तत्काल हल खुल्ने कुनै छाँटकाँट देखिँदैन।
नेपाली चलचित्रको विदेशी बजार अर्थात् डायस्पोरा पनि शून्य अवस्थामा झरेको छ। नेपाली चलचित्र बजारका लागि आकर्षक आम्दानीको अर्को स्रोत हो डायस्पोरा। कोभिडको दोस्रो र तेस्रो लहर पुनः सुरु भएसँगै विदेश बजार (डायस्पोरा)को सम्भाव्यता झन्झन् खुम्चिँदै गएको छ।
अष्ट्रेलिया, अमेरिका, युरोप र जापान लगायतका देश पनि भाइरस सङ्कटले नराम्रोसँग थलिएका छन्। त्यहाँको बजार लयमा फर्किएर पुनः नेपाली चलचित्र प्रदर्शन हुन र नेपाली दर्शकले साथ दिन लामै समय कुर्नु पर्ने बताउनुहुन्छ विदेशमा चलचित्र प्रदर्शन गर्दै आएका वासुदेव लामिछाने।
नेपालको मात्र होइन बलिउड हलिउडको अवस्था पनि प्राय उस्तै छ। हिन्दूस्तान टाइम्सका अनुसार कोरोना प्रभावका कारण बलिउडले एक हजार ३०० करोड भारु गुमाएको छ। हलिउड रिपोर्टर म्यागजिनका अनुसार हलिउडले महामारीका कारण पाँच अर्ब अमेरिकी डलर क्षति बेहोर्नुपरेको छ। हलिउडमा मात्रै तत्काल १४ हजार कामदारले रोजगारी गुमाएका छन्। चीनका कुल ४० हजार हलमध्ये ४० प्रतिशत सधैंका लागि बन्द हुने बिबिसीले उल्लेख गरेको छ।
यता नेपालमा पनि कोभिड–१९को अवस्था अघिसम्म देशभरमा २०४ पर्दा थिए। तर हाल १३ वटा हलहरु कोरोना भाइरस जोखिमकै कारण सदाका लागि बन्द भए । भूकम्पको असरले देशभर ६४ वटा हल बन्द हुँद हाल कोरोनाले पुनः १३ वटा हल गरी कुल ७५ वटा हल बन्द गराएको छ। उपत्यकामा मात्रै आधा दर्जनभन्दा बढी हल बन्द भएका छन्।
जमलको विश्वज्योति र चाबहिलको गोपिकृष्णलगायतका हल भत्काएर शपिङ मल निर्माण भइरहेको छ। ललितपुरको ललित सिनेमा, जोरपाटीको सिद्धार्थ, कोटेश्वरको पुष्पाञ्जलीलगायतका हल भत्काउने तयारी भइरहेको बताइएको छ। नक्सालको जयनेपाल हल पनि भत्काउने निश्चित भएको हल सञ्चालक कम्पनी क्युएफएक्सले जनाएको छ। राजधानी बाहिरका ‘सिङ्गल थिएटर’ लगातार बन्द भइरहेका छन्। कतिपय हल कुखुरा पाल्ने टहरामा परिणत भएका छन् भने कतिपय हल गोदाममा परिणत भएका छन्।
यसरी चलचित्र क्षेत्र दिनदिनै धराशायी बन्दै जाँदा सरोकारवाला निकाय यसको समाधानमा लाग्नु आवश्यक छ। चलचित्रकर्मी र सरकारी पक्षबीच आपसी सहकार्य र समन्वय आवश्यक देखिन्छ। समस्यामा रहेको चलचित्रक्षेत्र र चलचित्रकर्मीलाई तत्काल पुनःरुत्थानका लागि पहल गर्नुपर्दछ। अन्यथा चलचित्रक्षेत्र थप सङ्कटमा प्रवेश गर्नेछ। यसले चलचित्रमात्र नभई विस्तारै कला, साहित्य र अन्य मनोरञ्जनको क्षेत्रलाई समेत असर पार्नेछ।
कोरोना प्रभावकै कारण चलचित्र क्षेत्रले झण्डै दुई अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको चलचत्रिकर्मीहरूले बताउँदै आएका छन् । यद्यपि यो अङ्क अनुमान मात्र हो। तर, वर्षमा झन्डै १२० को हाराहारीमा निर्माण हुने चलचित्र, १७० सञ्चालित हलका पर्दा र १५ हजारभन्दा बढी सक्रिय चलचित्रकर्मीको आधारमा हेर्ने हो भने यो अङ्क कम लाग्न सक्छ।
नेपाल चलचित्र सङ्घका अनुसार अझै १८ महिनासम्म चलचित्रक्षेत्रमा प्रभाव परिरहने निश्चित छ। अध्यक्ष प्रधानका अनुसार सबै क्षेत्र खुलिसकेपछि मनोरञ्जनको आवश्यकता भएपछि बल्ल दर्शक हलमा आउने हुन्। दर्शक नै नआई हल खुल्न सक्दैन। कोरोना भाइरस जोखिमको डर त छँदैछ, मनोरञ्जनका लागि छुट्टै खर्चको आवश्यकता पनि रहन्छ। सामान्य भएकै अवस्थामा पनि खर्च जुटाएर मनोरञ्जनलाई प्रथामिकतामा सबै दर्शकले राख्न पनि मुस्किल छ। यसकारण पनि चलचित्रक्षेत्र पुरानै अवस्थामा फर्कन कम्तीमा १८ महिनालाग्ने चलचित्रकर्मीहरूको धारणा रहेको छ।
यस्तै निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी पनि अरु क्षेत्र खुले पनि चलचित्रक्षेत्र खुलिहाल्न कठिन रहेको बताउनुहुन्छ। सरकारले चलचित्र क्षेत्रलाई पनि अन्य प्रभावित क्षेत्रलाई झैँ कर्जा सुविधा उपलब्ध गराउने, पुनरुत्थान कार्यक्रमअन्तर्गत समायोजन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने हो भने स्वास्थ्य मापदण्डसहित हल खुलाउँदै जान सकिने अधिकारीको तर्क छ।
यता चलचित्र विकास बोर्डले भने चलचित्र क्षेत्रलाई यथाशक्य खुलाउन पहल भइरहेको जनाएको छ। खोप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग तारन्तार पहल भइरहेको र मन्त्रालय त्यसका लागि तयार भएको विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो। यद्यपि कति मात्रामा खोप उपलब्ध गराउने त्यो बारे भने बोर्डले खुलाएको छैन।
‘एक चरण सबै चलचित्रकर्मीलाई खोपको व्यवस्था गर्नसके रणनीति निर्माण गर्न सजिलो हुन्थ्यो। स्वास्थ्य मापदण्डसहित हल खुलाउन सकिन्थ्यो। त्यसपछि नयाँ चलचित्रहरु निर्माण पनि शुरु हुन्थ्यो। यसो गर्न सके चालु वर्षभित्रै चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्काउन सकिन्थ्यो’, बोर्ड अध्यक्ष दाहालको भनाइ छ।