गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरूप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ ।
क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ । क्लालिब्रेसन फ्लाईटको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार अबको एकमहिनाभित्रै क्लालिब्रेसन फ्लाईट सम्पन्न हुनेछ ।
एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ । आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एकसाता अवधिको हुनेछ ।
महाप्रबन्धक क्षेत्रीले भने, “गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उडान गरी अर्को पाँच महिनाभित्र व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने योजना छ ।” परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ ।
विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले र पछि कोरोनाको महामारी समेतले गर्दा ढिलो हुँदै गएको थियो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी रु ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।
कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लम्बाईको धावनमार्ग रहेको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही घट्ने विश्वास लिइएको छ । (रासस)