तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन आज भाइटीका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी अथवा सप्तरङ्गगी टीका लगाइदिएर आज यो पर्व मनाइँदैछ ।
सर्वप्रथम दियो, कलश र गणेशको पूजा गरी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवीका साथै चित्रगुप्त, यमराज र यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेक्ने परम्परा छ ।
दिदी बहिनीले पानी र तेलको धाराले ३/३ घेरा लगाएर जाजुभाइलाई छेक्ने गर्दछन् । त्यसपछि परम्पराअनुसार पञ्चरङ्गी अथवा सप्तरङ्गगी टीका लगाइदिने र मखमली, दुबोका साथै सयपत्री, गोदावरी लगायतका फूलका माला लगाएर सिंगार्ने गर्दछन् । तेलको घेरा कहिल्यै नसुक्ने र मखमली र दुबो पनि कहिल्यै नओइलाउने हुँदा दाजुभाइको पनि त्यसैगरी दीर्घायु हुने विश्वास गरिन्छ । साथै अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज र यमुनाको पूजा गर्नुमा पनि दीर्घायुष्यको कामना रहेको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने सामाजिक परम्परा छ ।
टाढाटाढा भएको अवस्थामा पनि यो पर्वमा एकैठाउँमा जम्मा भएर दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने परम्परा रहेको हुँदा यो पर्वलाई दिदीबहिनी र दाजुभाइबीच आपसी प्रेम बनाइराख्ने महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।