कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकको चौथो दिन आज गाई, गोरु तथा गोवर्द्धन पर्वतको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनका रुपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी आजै गोवर्द्धन पूजा पनि गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा गोकुलवासीहरूले इन्द्र रिसाए भने अनर्थ हुन्छ भनी इन्द्रको पूजा गर्नलाग्दा भगवान् श्रीकृष्णले इन्द्रको होइन हाम्रा गाईवस्तुलाई र हामीलाई पनि पालन गर्ने गोवर्द्धन पर्वतको पो पूजा गर्नु पर्छ भनी पर्वतको पूजा गर्न लगाएको वर्णन श्रीमद्भागवत महापुराणमा आउँछ । त्यतिवेलादेखि नै कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पूजा गर्ने परम्परा चलेको धार्मिक विश्वास छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको छ ।