तिहारमा जुवा फुक्यो भन्दै खालमा बसेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । तिहारमा चौकीमा बसेका प्रहरीहरुको ध्यान अहिले जुवाडेहरुको पिछा गर्नमै बित्न थालेको प्रहरीहरु बताउँछन् । यस क्रममा तनहूँको ढोरफिर्दीमा २९ जनालाई कौडाको एउटै खालबाट पक्राउ गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका हुन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति उनीहरुलाई पक्राउ गरेको हो । ठूलो धनराशिका साथ कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोली परिचालन गरेर उनीहरुलाई पक्राउ गरेको तनहुँका जिल्ला प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, नीर पुन, अञ्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियार छन् ।
यस्तै शुक्लागण्डकी नगरपालिका–२ का रूपेश गुरुङ, शुक्लागण्डकी नगरपालिका–३ का गोविन्द विक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी नगरपालिका–८ का नारायणसिंह थापा, चूडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, रोशन भट्टराई, प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी नगरपालिका–११ का कृता भट्टराई समेत पक्राउ परेका छन् ।
तिहारमा जुवातास खेल्नु पनि चाडकै अभिन्न पाटो भएको भन्ने पुरानो सोच मानिसहरुमा रहिआएको छ । सोही कारण दशैंको कोजाग्रत पूर्णिमादेखि जुवा खुलेको भन्दै जुवाडेहरु सक्रिय हुने गरेको प्रहरी स्रोत बताउँछ । तर २०७४ सालमा जारी भै २०७५ सालदेखि लागू भएको मुलुकी ऐनले जुनसुकै प्रकारका जुवालाई सधैं निषेध गरेको छ ।
कुनै पनि प्रकारका जुवालाई कानूनले पूर्णत: निषेध गरेकोले कानून कार्यान्वयन गर्नु प्रहरीको कर्तव्य भएको तनहुँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । उनले नेपालीत्व समाचारदातालाई भने- "जनताले जुवा जस्तो अनुत्पादक र अपराधलाई प्रोत्साहित गर्ने काममा समय बिताउनुभन्दा सृजनशील काम गर्नु पर्छ भनेर मुलुकी ऐनले जुवालाई अपराधमा राखेको देखिन्छ ।" कानून फेरिइसकेकोले मानिसहरुको सोचमा पनि परिवर्तन ल्याउनु पर्ने एसपी मैनालीको धारणा छ ।