टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ।
पाकिस्तान समूह २ को शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ। तर, तीनवटा पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन्। ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज।
भारत
२०२१ को टी-२० विश्वकप भारतीय टोलीका लागि दुःखद रह्यो। भारतलाई उपाधि दाबेदार टीमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने कमजोर हुन पुग्यो ।
भारत आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो । अब भारतले सेमिफाइनलमा पुग्नको लागि बाँकी तीन खेल ठूलो अन्तरले जित्नुका साथै अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनु पर्ने हुन्छ । त्यसैले भारतको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ। भारतले सन् २००७ मा मात्रै टी-२० विश्वकप जितेको थियो।
श्रीलंका
चारमध्ये तीन खेलमा हार बेहोरेर टी-२० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका। श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो। तर, सुपर १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन।
श्रीलंकाले भारतलाई हराएर २०१४ को टी-२० विश्वकपको उपाधि जितेको थियो।
वेस्ट इन्डिज
वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ। उसलाई पनि सेमिफाइनल पुग्न कठिन छ। वेस्ट इन्डिजले २०१२ र २०१६ मा दुई पटक टी-२० विश्वकपको उपाधि जितेको थियो। तर यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन।
इंग्ल्यान्ड र पाकिस्तान फाइनल भिड्ने सम्भावना
टी-२० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ। टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ। जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो।
इंग्ल्यान्डले सन् २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो। जारी विश्वकपमा इंग्लिस टोली लयमा छ। बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन्।
पाकिस्तानले आफ्ना तीनवटै खेल जितेको छ र यो टोली समूहको शीर्ष स्थानमा छ। पाकिस्तानको बलिङ दमदार फर्ममा छ। पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गरिरहेका छन्।
टी-२० विश्वकप विजेता टोलीहरू
सन् २००७ः भारत
सन् २००९ः पाकिस्तान
सन् २०१०ः इंग्ल्यान्ड
सन् २०१२ः वेस्ट इन्डिज
सन् २०१४ः श्रीलंका
सन् २०१६ः वेस्ट इन्डिज