नेपालबाट उच्च शिक्षा अध्ययनका लागि वर्षेनी हजारौंको संख्यामा विद्यार्थीहरू बाहिरी देशहरूमा जाने गरेका छन् । कोभिड महामारीभन्दा अघिको तथ्याङ्कलाई हेर्दा आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार भन्दा बढी विद्यार्थीले विदेशमा उच्च शिक्षा अध्ययनको लागि शिक्षा मन्त्रालयबाट अनुमतिपत्र (एन्ओसी) लिएको देखिन्छ । तर कोभिडको महामारी सुरुभएयता भने विद्यार्थीहरू खासै विदेश जान पाएका छैनन् ।
केही देशहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै आफ्नो देशमा विदेशीलाई प्रवेश दिन थालिसकेका छन् । नेपाली विद्यार्थीहरू सबैभन्दा ठूलो संख्यामा जाने गरेको अष्ट्रेलियाले पनि आफ्नो अन्तर्राष्ट्रिय सीमा आउँदो नोभेम्बर अर्थात् आगामी सातादेखि नै खोल्दै छ । शुरूमा पूर्ण खोप लगाइसकेका आफ्ना नागरिक र उनीहरूका नातेदारहरूका लागि खोल्ने भनिएको छ । ८० प्रतिशत बासिन्दाले खोप लगाइसकेका राज्यका अष्ट्रेलियनहरूले अब घुमफिर गर्न पाउने भएका छन् ।
विदेशी पर्यटक र विदेशी विद्यार्थीहरूबाट प्राप्त हुने आय अष्ट्रेलियाको अर्थ व्यवस्थाको निकै ठूलो स्रोत हो । त्यसैले आउँदो डिसेम्बरसम्ममा विदेशी पर्यटक तथा विद्यार्थीहरूका लागि पनि अष्ट्रेलियाको सीमा खुला हुने सम्भावना बढेको छ । विद्यार्थी तथा पर्यटकहरूलाई भित्र्याउने प्रक्रिया मिलाउनेतर्फ काम भइरहेको सङ्केत अष्ट्रेलिया सरकारले पनि गरेको छ ।
नेपालबाट विदेश पढ्न जानेमा सबैभन्दा बढी अष्ट्रेलिया नै जाने गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को तथ्याङ्कलाई हेर्दा उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट अनुमतिपत्र (एन्ओसी) लिने कुल ६३ हजार २५९ जनामध्ये ३६ हजार ३२४ जनाले अष्ट्रेलियाकै लागि लिएका थिए । त्यसैले विगत डेढ वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सीमा कहिले खुल्ला भनेर कुरेर बसेका नेपाली विद्यार्थीहरूको संख्या ठूलो छ ।
यसबीचमा अष्ट्रेलियाको विश्वविद्यालयमा भर्ना भएर पनि जान नपाउँदा यहीँ बसेर अनलाइन पढिरहेका, अष्ट्रेलिया जान प्रवेशाज्ञा लिइसकेका तर जान नपाएका, बिदा मनाउन नेपाल आएकाबेला लकडाउन भैदिएकाले फर्किन नपाएका तथा अष्ट्रेलियाका विश्वविद्यालयमा पढ्न इच्छुक नयाँ विद्यार्थीहरूसमेत कहिले अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्छ भनेर पर्खिएर बसेका छन् ।
अष्ट्रेलियामा सन् २००३ देखि संचालित शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्याल विदेशी विद्यार्थीहरूले आगामी डिसेम्बरबाट अष्ट्रेलियामा प्रवेश पाउनसक्नेमा आशावादी छन् । उनी भन्छन् – अनलाइन पढिरहेका, भिसा लागेर पनि अष्ट्रेलिया जान नपाएका वा बिदामा आफ्नो देशमा गएका तर फर्किन नपाएकाहरूलाई पहिलो प्राथमिकता पक्कै हुने छ । अहिले पनि अष्ट्रेलियाले भिसा दिने काम जारी नै राखेकाले अष्ट्रेलिया पढ्न जान इच्छुक विद्यार्थीहरूले बेलैमा भिसा लिएर बस्दा सीमा खुलेपछि प्राथमिकतामा पर्न सकिने हुन्छ । लामोसमयसम्म बन्दजस्तै रहेको शैक्षिक उद्योग पुनः सञ्चलनमा आएपछि अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजहरूले विद्यार्थीहरूका लागि छात्रवृत्ति कोटा पनि बढाउन सक्ने उनको धारणा छ । कुराकानीको विस्तृत विवरण :-