मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा सुरक्षित स्तरभन्दा बढी भेटिएको छ । ‘लेडजन्य विषाक्तिकरण रोकथाम नवौँ अन्तर्राष्ट्रिय सप्ताह–२०२१’ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले राजधानीमा गरेको कार्यशाला गोष्ठीमा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा यस सम्बन्धी विज्ञले एक डेसिलिटर रगतमा पाँच माइक्रोग्रामभन्दा बढी सिसा (लेड) हुुन नहुनेमा नेपालका बालबालिकाको रगतमा सो भन्दा बढी पाइएको जानकारी दिए ।
घर, विद्यालय तथा अस्पतालका भित्ता, फर्निचरमा लगाउने रङमा लेडको मात्रा प्रसस्त हुने भएकाले त्यसले स्वास्थ्य तथा वातावरणमा पार्ने समस्याको निराकरण एवं न्यूनीकरण गर्न जनचेतनाका अभिवृद्धि गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिए । डब्लुएचओको नेपालस्थित कार्यालयका जनस्वास्थ्य सल्लाहकार डा. खुर्सिद अलम हेदरले सरकारले सात वर्षअघि रङहरूका लागि तोकेको लेडको मापदण्डको व्यापक प्रचारप्रसार हुनुपर्ने बताए । उनले मुलुकमा नसर्ने रोगहरू बढ्दै जानुमा रङमा प्रयोग गरिने लेडको पनि भूमिका हुनसक्नेतर्फ सोच्न सम्बन्धित निकायलाई अनुरोध गरे ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले लेडले बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई व्यवस्थित गर्नुपर्ने बताए। पेन्टहरूमा प्रयोग हुने लेडका सम्बन्धमा सरकारले २०७१ पुस ७ गते राजपत्रमा प्रकाशित गरी तोकेको बाध्यकारी मापदण्ड ९० पिपिएमको सीमाभित्र रहन उनले आग्रह गरे । उनका अनुसार लेडले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्दछ । बालबालिकाको शरीरमा लेडको मात्रा धेरै भएमा स्मरण शक्तिमा ह्रास आउने पनि उनले जानकारी दिए ।
यसैगरी व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाविज्ञ खगेन्द्र बस्नेतले शरीरमा १० माइक्रोग्रामभन्दा बढी सिसाको मात्रा भेटिएमा उपचारमा लाग्न सुझाव दिए ।
काठमाडौँ मेडिकल कलेज सामुदायिक चिकित्सा विभागका प्रमुख डा. सुनीलकुमार जोशीले ब्याट्री तथा रङमा प्रयोग भएका लेडले मानिसको पेट हुँदै टाउको अनि हड्डीमा समेत असर गर्ने बताए ।
सातै प्रदेशबाट ३७ पेन्टस् उद्योगका नमूना सङ्कलन गरी ६२ विभिन्न रङका इनामेलका साथै २१ विभिन्न रङका स्प्रे पेन्टस्का नमूनामा अध्ययन गर्दा ६२ मध्ये ३२ वटाअर्थात् ५२ प्रतिशतमा मात्र तोकिएको पीपीएमभन्दा कम लिड र बाँकी ३० नमूनाअर्थात् ४८ प्रतिशत पेन्टस्मा बढी लिडको मात्रा भेटिएको छ। पेन्टस्मा लिडको मात्रा ९० पीपीएमभन्दा बढी हुन नहुनेमा केहीमा २२ हजार ८५० अर्थात् मापदण्डभन्दा २५४ गुणा बढीसम्म भेटिएको सरोकारवालाहरूले जानकारी दिएका छन् ।