कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दसैँयता आन्तरिक पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाको विश्वव्यापी महामारीले लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न भागबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षित छन् । विभिन्न सङ्घ संस्थाका साथै व्यक्तिगत रुपमा आउने पर्यटकले सिक्लेसमा सञ्चालित २३ होटेल तथा २० होमस्टे प्रत्येक दिन भरिने गरेको होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङ बताउँछन् ।
महामारी केही कम भएकोले यतिखेर मानिसहरू प्रकृति र संस्कृतिले भरिएका गाउँठाउँमा पुग्ने गरेका छन् । सिक्लेस गाउँ आफ्नो मौलिक कला, संस्कृति तथा मनोरम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिले धनी यो गाउँ समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा छ । वरिपरि हरियो वनजङ्गल रहेको यो गाउँमा चरा र वन्यजन्तुप्रेमी पनि रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ ।
लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । सिक्लेसमा ढुङ्गाले छाएको तथा ढुङ्गा छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर बस्ती छ । सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशिष्टता हो ।
“दुसैँं सुरु हुनु अगावै असोजको दोस्रो साताबाट सिक्लेसमा पर्यटकको चाप बढेको छ”, सिक्लेस होटेल व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, “त्यसयता यहाँका होटेल तथा होमस्टे सबै दिनहुँ पर्यटकले भरिएका छन् ।” गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यो गाउँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर पनि एक दिनमा पुग्न सकिन्छ । त्यसैले गुरुङ जातिको अध्ययन अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस जाने गरेका छन् । गुरुङ संस्कृतिको अध्ययनका लागि त्यहाँ रहेको सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण गन्तव्य बनेको छ । सङ्गहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ ।
कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि जाने पर्यटकहरू पनि सिक्लेस हुँदै जाने गरको सिक्लेस युवा क्लबका पूर्व सचिव एवं सल्लाहकार देवीजङ गुरुङले जानकारी दिए । सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइलाई लम्ब्याउन गाउँमाथि निर्मित सिक्लेस पार्क पर्यटकको बसाइ लम्ब्याउनका लागि निकै उपयोगी बनेको गुरुङले जानकारी दिए ।
सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटेल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेका छन् । प्याकेजमा साँझको खाजा, बेलुकाको खाना, बास र भोलिपल्ट बिहानको नास्ता तथा खानाका लागि ९०० रुपैयाँ निर्धारण गरिएको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए । पर्यटकले आवश्यक ठानेका अवस्थामा बेलुका सांस्कृतिक प्रस्तुति पनि रहने गुरुङले जानकारी दिए ।
पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा मानिसहरू पैदलै जानु पर्ने वाध्यता रहेको भएपनि अब त्यहाँ जान सडक यातायातको पनि सुविधा छ । यहाँ जानका लागि काहुँ खोलामा जीप सहज रुपमा नै उपलब्ध हुन्छ ।
यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ । संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । लामो समयसम्म कोरोना प्रभावित पर्यटनमा असोज दोस्रो सातायता भएको पर्यटकको आगमनले सिक्लेसी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।