चितवन, कार्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।
एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । “महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौँ”, उनले भनिन् ।
उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनले बताइन् । यस्तै अधिकांश महाधिवेशन प्रतिनिधिलाई आवासको व्यवस्था सौराहामा हुने भएकाले बन्द सत्र पनि सोही ठाउँमा गर्न सहज हुने उनले बताइन् । उनले भनिन्, “महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दैछौँ, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।”
महाअधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् । एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटेल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल गरेको र व्यवसायी सकारात्मक रहेको तथा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताइन् ।
यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको बताइएको छ ।
९० वडामा सर्वसम्मत अधिवेशन
यसैबीच एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ वडामा सर्वसम्मत हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको अध्यक्ष रावलले बताइन् । यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकाका तीन वडा र कालिका नगरपालिकाका दुई वडाबाहेक अन्य वडामा सर्वसम्मत भएको हो । उनका अनुसार यही कात्तिक ९ गते जिल्लाका सात पालिकामध्ये छ पालिकाको अधिवेशन हुनेछ । भरतपुर महानगरपालिकाको अधिवेशन भने केही दिनपछि गर्ने तयारी गरिएको छ । (रासस)